सोसल मिडिया
पछिल्लो समय रुकुम पश्चिमका विभिन्न स्थानमा दिनहुँजसो आगलागी हुने गरेको छ । आगलागीबाट सबैभन्दा बढी सामुदायिक वन क्षेत्रमा क्षती भएको बताईन्छ ।
डिभिजन वन कार्यालय रुकुम पश्चिमका अनुसार चैत महिनाको पहिलो सातापछि दिनहुँजसो आगलागीका घटनाहरु भईरहेका छन् । यस महिनाको पछिल्लो १९ दिनमा विभिन्न २२ स्थानमा आगलागी भएको डिभिजन वन कार्यालयका प्रमुख शेरबहादुर परियारले जानकारी दिनुभयो ।
उहाँका अनुुसार गर्मियाम सुरु भएयता रुकुम पश्चिमका २७ वनमा आगलागी भएको छ । त्यसमध्य चैत महिनामा मात्रै २२ स्थानमा आगलागी भएको हो ।
पुरानो खर जलाएमा नयाँ घाँसको पालुवा पलाउने भन्ने गलत अभ्यास गाउँमा रहेको र बाटोमा हिड्ने बटुवाहरुले जथाभावि चुरोटको ठुँटाहरु फाल्दा आगलागीका घटना हुने गरेको बताईन्छ । आगलागीबाट करिब ५५० हेक्टर क्षेत्रफलमा लगाईएका विभिन्न प्रजातिका बोटबिरुवा क्षति भएको डिभिजन प्रमुख परियारले बताउनुभयो ।
सबैभन्दा बढी जिल्ला सदरमुकाम रहेको मुसीकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाको क्षेत्रमा आगलागीका घटना भएका छन् । मुसीकोट र बाँफिकोटका १२/१२ वटा स्थानमा आगलागी भएको छ । त्यसैगरी सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाको वन क्षेत्रमा पनि आगलागीका घटना भएका छन् ।
डिभिजन वन कार्यालयको तथ्याङक अनुसार बढीमात्रामा सामुदायिक वन क्षेत्रमा आगलागी भएको छ भने केहि राष्ट्रिय वन र निजि खर क्षेत्रमा पनि आगलागी भएको छ । आगलागीबाट हालसम्म सात हजार बढी विभिन्न प्रजातिका बोटबिरुवाहरु नष्ट भएका छन् ।
नेपाल प्रहरी, नगर प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, डिभिजन वन कार्यालयका कर्मचारीहरु, वनका उपभोक्ताहरु मिलेर आगलानी नियन्त्रणमा लिने गरिएको छ ।
सानीभेरी गाउँपालिका –३ को गुमाखोला सिम्तारा सामुदायिक वन क्षेत्रमा फैलिएको आगो भने तीन दिनसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । यस क्षेत्रबाट मौराखारा वन क्षेत्रमा आगो फैलिएकोले सतर्क रहन र आफ्नो धनमालको सुरक्षा गर्न डिभिजन वन कार्यालयले अनुरोध गरेको छ ।
वन डढेलो अत्यन्तै ठुलो भएकोले डिभिजन वनका कर्मचारी, प्रहरी र स्थानीयवासी समेतले प्रयास गर्दा पनि नियन्त्रण गर्न नसकिएको बताईएको छ ।