Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसीकोटको क्वाम्मा गाउँमा गोरेटो बाटो : गाउँकै श्रोत साधन, गाउँमै रोजगार

आइतबार, वैशाख ९, २०८१
tribeni2

रुकुम पश्चिम । पछिल्लो समय गोरेटो बाटो निर्माण तथा मर्मतका कार्यहरु ओझेलमा पर्दै गईरहेका छन् । सडक निर्माण पश्चातको यातायात सुविधा, बाटो निर्माणका क्रममा प्रयोग हुने सिमेन्ट गिठ्टी लगायतको प्रयोगले गाउँमा ढुङगा बिछ्याएर गोरेटो बाटो निर्माण गर्ने काम कम हुँदै गएको पाईन्छ ।

तर, रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्वर ८ को कार्यालयले भने गाउँकै ढुङगा बिछ्याएर गोरेटो बाटोलाई आकर्षक र सुविधायुक्त बनाउने काम गरिरहेको छ । 
 
वडाको क्वाम्मा भन्ने स्थानमा रहेको खर्सुनिगैरा देखि खानडाँडासम्म गोरेटो बाटो निर्माणको कामलाई वडाले प्राथमिकता दिएको हो । करिब ६२० सय मिटर लामो यो गोरेटो बाटो निर्माणमा स्थानीय श्रोत र साधनलाई नै प्रयोग गरिएको छ । वडा अध्यक्ष जयबहादुर थापााका अनुसार स्थानीय श्रोत साधनको उपयोगका साथै स्थानीय जनशक्तिलाई समेत रोजगरी प्रदान गरेर गोरेटो बाटोको काम भईरहेको छ । 

यस गोरेटो बाटोको करिब ३२० मिटर लामो भाग निर्माण गरिसकिएको वडा अध्यक्ष थापाले जानकारी दिनुभयो । मुसीकोट नगरपालिकामा सञ्चालित शहरी शासकिय तथा पूर्वाधार विकास योजना अन्तर्गतको यस गोरेटो बाटो निर्माणको काम खर्सुनिगैराबाट गरिएको छ । खानडाँडासम्म पुग्नलाई अझै तीन सय मिटर भाग बाँकि रहेको बताईन्छ । 

शहरी शासकिय तथा पूर्वाधार योजना अन्तर्गतको ६ लाख रुपियाँबाट यो वर्षको काम सम्पन्न गरिसकिएको छ । यस रकमबाट बाटोको वरिपरीको भागमा पर्खाल लगाउने, पलेटी ढुङगा निकाल्ने र बाटो निर्माण गर्ने काम गरिएको छ । पलेटी ढुङगा निकाल्ने र ढुवानी गर्ने काममा बढी रकम खर्च हुन गएको वडा अध्यक्ष थापाले बताउनुभयो । 

यो गोरेटो बाटो निर्माणको क्रममा स्थानीय ५० जनाले रोजगारी समेत पाएका छन् । गाउँकै बाटो निर्माणमा गाउँकै जनशक्ति परिचालन गरिएको वडा अध्यक्ष थापाले बताउनुभयो । उहाँका अनुसार गोरेटो बाटो निर्माणका लागि एक रुपियाँ पनि बजारको सामाग्री किन्नमा खर्च गर्नुपरेको छैन । 

स्थानीय मन बहादुर गिरीले गोरेटो बाटो निर्माणले गाउँवासीलाई सहज भएको बताउनुभयो । पहिला साघुँरो र अप्ठ्यारो बाटो अहिले चिटिक्कको बन्दा आउजाउमा सुविधा भएको गिरीले जनाउनुभयो । उहाँका अनुसार गोरेटो बाटो निर्माणको कामले बालबालिका र जेष्ठ नागरिकहरुलाई थप सहज बनाएको छ । 

अर्का स्थानीय लोक बहादुर रावलले गोरेटो बाटोहरु विकासको प्राथमिकतामा नपरेको बेला वडा कार्यालयले योजना बनाएर स्रहानिय काम गरेको जनाउनुभयो । उहाँका अनुसार स्थानीय श्रोत साधनको उपयोग र स्थानीय जनशक्तिलाई कामको अवसर समेत बाटोले दिएको छ । 

खर्सुनिगैरा देखि खानडाँडासम्म गोरेटो बाटोको काम अर्को वर्षमा पुरा गर्ने योजना वडा कार्यालयको रहेको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्