आगलागी

आगलागीबाट बाँफिकोटका १८ घर नष्ट, ९० घर जोखिममा

डरले रातभर जाग्राम स्थानीयवासी
सोमबार, वैशाख १०, २०८१

रुकुम पश्चिम । आईतबार दिउँसो वन क्षेत्रबाट गाउँतर्फ सल्केको आगलागीका कारण साेमबार बिहानसम्म बाँफिकोटमा १८ घर जलेका छन् । बाँफिकोट गाउँपालिका वडा नम्वर २ मा १० र वडा नम्वर ३ मा आठ वटा घर जलेका हुन् । 

वडा नम्वर २ का वडा अध्यक्ष प्रकाश खत्रीका अनुसार हिजो दिउँसोबाट लागेको आगलागीको कारण रातभर १० वटा घर र दर्जनौ गोठ नष्ट भएका छन् । वडाको नेट्टेमा दुई वटा, मेगे र कलजुतेमा आठ वटा घरमा आगलागी भएको उहाँले बताउनुभयो । स्थानीय महाबिर पौडेल, नन्दराम पौडेल, मानसिङ पौडेल,सरण पौडेल, कविराम पौडेल, बल बहादुर पौडेल, कृष्ण पौडेल र कमला पौडेलको घरमा आगलागी भएको वडा अध्यक्ष प्रकाश खत्रीले जानकारी दिनुभयो ।  

आगलागी उच्च लेकतर्फ फैलिएकोले त्यहाँ रहेका दर्जनौ गोठहरु जलेको वडा अध्यक्ष खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अनियन्त्रित बनेको आगलागीाका कारण रत्तकाटे र भाटी बस्ती उच्च जोखिममा रहेका छन् । दुई टोलमा करिब ९० घर रहेका छन् ।

आईतबार दिनभर स्थानीयवासीले आगो निभाउने कोशिस गर्दा पनि नियन्त्रण गर्न नसकिएको बताईन्छ । आगलागी अनियन्त्रित भएपछि स्थानीयवासीहरुलाई सजक रहन र धनमालको सुरक्षा गर्न अनुरोध गरिएको छ । आगो निभाउन नसकिएको र अनियन्त्रित बन्दै गएपछि स्थानीयवासीहरु डरले रातभर जाग्राम बसेका छन् । 

त्यसैगरी वडा नम्वर ३ को दारकाट्टे र चौरपोखरीमा आठ वटा घर जलेको वडा अध्यक्ष तिलबिर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय ढारपाखा सामुदायिक वनबाट फैलिएको आगो गाउँमा पस्दा उक्त क्षती भएको हो । आईतबार नै घरमा आगो सल्केपछि घरभित्र रहेका गहना निकाल्न घरभित्र छिरेकी ७० वर्षिया बुदी कामीको मृत्यु भएको थियो । 

त्यसैगरी स्थानीय धनबहादुर बोहराको घरमा रहेका एक गोरु, एक गाई र तीन वटा बाख्रा आगलागीमा मरेको वडा अध्यक्ष केसीले जानकारी दिनुभयो । पूर्ण बहादुर ओलीको घरमा रहेको एक गोरु घाईते भएको बताईन्छ । 

वडा अध्यक्ष केसीले उक्त क्षेत्रको आगलागी नियन्त्रणमा आएको र अन्य क्षतीको विवरण संकलन गर्न थालिएको बताउनुभयो ।

दुबै वडामा भएको आगलागीको कारण भने खुल्न सकेको छैन । 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०९:३२
प्रतिक्रिया दिनुहोस्