मलेसियामा घाईते रुकुमका एक युवालाई उपचार अभाव, नेपाल फर्कनै समस्या

साथीहरुको आश्रयमा रहनु भएका घाईते केसीले भन्नुभयो, ‘कम्पनीले मेरो उपचारमा चासो दिदैन, म नेपाल फर्किएर उपचार गर्न चाहन्छु ।’
शनिबार, वैशाख १५, २०८१

बैदेशिक रोजगारीको क्रममा मलेसिया गएको बेला दुर्घटनामा परेर घाईते भएका रुकुम पश्चिमका एक युवालाई उपचारमा समस्या भएको छ । 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ घर भई हाल मलेसियामा रहनुभएका २५ वर्षिय बिष्णु केसीलाई उपचारमा समस्या भएको हो । 

मलेसियाको सिलिङ शहरमा रहनुभएका घाईते केसीले आफू करिब डेढ महिना पहिला मोटरसाईकल दुर्घटनामा परेको र हालसम्म गतिलो उपचार पाउन नसकेको बताउनुभयो । उहाँले दुर्घटनामा परेर आफ्नो दायाँ खुट्टा भाँचिएको तर भरपर्दो उपचार नपाएको जानकारी दिनुभयो । 

केसीले दुर्घटनामा परेको बेला खुट्टाको अप्रेशन गरिएको तर सफल नभएको बताउनुभयो । त्यसयता हालसम्म पनि थप उपचार हुन नसकेको उहाँले जनाउनुभयो । ‘म साथीहरुसँगै कोठामा थन्किएको छु’, केसीले भन्नुभयो, ‘कम्पनीले मेरो उपचारमा चासो दिदैन, म नेपाल फर्किएर उपचार गर्न चाहन्छु ।’ उहाँलाई कम्पनीले नेपाल फर्काईदिने बताएपनि अहिलेसम्म वास्ता गरेको छैन । 

उहाँ तीन महिना पहिला चार लाख आठ हजार रुपियाँ खर्च गरेर मलेसिया पुग्नु भएको थियो । मलेसिया गएर काम सुरु गरेको डेढ महिनामै मोटरसाईकलको ठक्करबाट घाईते हुनपुगेको उहाँले जनाउनुभयो ।

ठक्कर दिएर घाईते बनाउने मोटरसाईकल र चालक पत्ता नलागेको र आफू कार्यरत कम्पनीले पनि वास्ता नगरेको उहाँको भनाई छ । साहु ऋण गरेर बैदशिक रोजगारी रोज्नु भएका उहाँले मलेसियाको मुल्टेस नामक कम्पनीमा काम सुरु गर्नुभएको थियो । 

पहिलो पटकको उपचारले कुनै सुधार नभएपछि उहाँलाई अहिलेसम्म अस्पतालमा लगिएको छैन । उहाँलाई अहिले साथीहरुले आश्रय दिईरहनुभएको छ । उपचार पनि नपाएको र हिड्डुल समेत गर्न नसक्ने अवस्था रहेको उहाँको अवस्था दयनिय बन्दै गएको उहाँका साथीहरुले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १४:२२
प्रतिक्रिया दिनुहोस्