Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिम्रुतु दुर्घटना : मृतकका परिवारलाई क्षतीपूर्ति दिने सहमती, राप्ती राजमार्ग सुचारु

मंगलबार, वैशाख १८, २०८१
tribeni2

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतुमा आज बिहान मिनी ट्रकको ठक्करबाट मृत्यु भएका जयबहादुर गिरीको परिवारलाई क्षतीपूर्ति दिने सहमति भएको छ । सहमतिपछि बिहानैबाट बन्द भएको राप्ती राजमार्ग सुचारु भएको छ । 

मंगलबार बिहान दाङबाट रुकुम पश्चिमको मुसिकाेट खलङ्गा आउँदै गरेको रा १ ख ३२१७ नम्बरको मिनी ट्रकले रा ६ प ८५५८ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा त्रिवेणी गाउँपालिका वडा नम्बर ४ खाराका ४० वर्षिय जयबहादुर गिरीको मृत्यु भएको थियो । 

घटनापछि आक्रोशित स्थानीयले राप्ती राजमार्ग अन्तर्गतको उक्त सडक बन्द गर्नुका साथै आन्दोलन गरेका थिए । उनीहरुले ट्रक र सिम्रुतु बजारमा रहेको प्रहरी चेक पोष्टमा समेत तोडफोड गरेका थिए । उनीहरुले उचित क्षतिपूर्तिको माग राख्दै शव समेत उठाउन दिएका थिएनन् । 

दाङबाट ट्रक मालिक र ट्रक व्यवसायी समितिका प्रतिनिधीहरु आएपछि पीडितपक्षहरु बिच छलफल गरिएको र सहमति भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक बिष्णु प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतकका परिवारलाई कानून बमोजिम उपलब्ध हुने बिमा रकम र क्षतिग्रष्त मोटरसाईकलको क्षतीपूर्ति दिने सहमति भएको छ ।

सहमतिपछि अहिले शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा ल्याईएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । यसका साथै दिनभर अवरुद्ध रहेको सडक सुचारु भएको छ । 

प्रहरीले ट्रक चालक सल्यानको छत्रेश्वरी गाउँपालिका -७ का २७ वर्षिय लक्ष्मण खड्कालाई नियन्त्रणमा लिएको छ । ब्रेक फेल हुँदा ट्रकले मोटरसाइकललाई ठक्कर दिएको बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  २०:४३
प्रतिक्रिया दिनुहोस्