आठविसकोटमा अटो दुर्घटना हुँदा चालकसहित सात जना घाईते

शुक्रबार, वैशाख २१, २०८१

रुकुम पश्चिमको आठविसकोटमा अटोरिक्सा दुर्घटना हुँदा सात जना घाईते भएका छन् । 

शुक्रबार बिहान आठविसकोट नगरपालिका वडा नम्वर ९ स्थित खहरेपिपलमा रा १ ह ४८०२ नम्वरको अटो दुर्घटना भएको हो ।

आठविसकोट नगरपालिका -१० को काफलचौरबाट वडा नम्वर ९ को राडि बजारतर्फ आउँदै गरेको अटो दुर्घटना हुँदा अटोमा सवार सात जना घाईते भएको आठविसकोट नगरपालिका प्रमुख रबि केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाईतेहरु सबैको आठविसकोट नगर अस्पताल राडिमा उपचार भईरहेको छ । उहाँहरुको अवस्था सामान्य रहेको बताईएको छ । 

घाईते हुनेहरुमा अटो चालक आठविसकोट नगरपालिका -१० निवासी अन्दाजी १९ वर्षिय दिपक खत्री, बाँफिकोट गाउँपालिका -७ का अन्दाजी ४९ वर्षिय नन्दराम पुन, ४२ वर्षिय मदन कुसारी, १८ वर्षिया करुणा कुसारी र उहाँका ११ महिनाको छोरा तेज बिक्रम कुसारी हुनुहुन्छ । त्यसैगरी आठविसकोट नगरपालिका -१२ निवासी १८ वर्षिया कल्पना बिक र उहाँकी १ वर्षिया छोरी दुर्घटनामा परेर घाईते हुनुभएको छ । 

आठविसकोट नगर प्रहरी ईन्चार्ज टोपबहादुर ओलीका अनुसार चालकले ब्रेक नलागेकोले दुर्घटना भएको बताएका छन् । घाईतेहरु मध्य अटो चालक खत्री र बाँफिकोटका नन्दराम पुनको टाउको र खुट्टामा चोट रहेको छ । उहाँहरुको अहिले नगर असपतालमा उपचार भईरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्