दुर्घटनाका घाइतेलाई अमेरिका र कोरियाबाट उपचार खर्च 

शुक्रबार, वैशाख २१, २०८१

रुकुम पश्चिम । बस दुर्घटनामा घाईते हुनुभएका सानीभेरी गाउँपालिका –६ निवासी शशिराम खड्काको उपचारको लागि आर्थिक सहयोग गरिएको छ ।

गत चैत्र ५ गते बाग्लुङको निसिखोलामा भएको बस दुर्घटनामा परी घाइते हुनुभएका खड्कालाई अमेरिका र कोरियाबाट उपचार खर्च पठाईएको हो । 

उहाँलाई सानीभेरी गाउँपालिका –६ कोटगाउँ घर भई हाल अमेरीका रहनुहुने पवन कुसारीको नेतृत्वमा संकलन गरिएको करिब तीन लाख रुपियाँ प्रदान गरिएको हो । वडा अध्यक्ष पहलसिं घर्तीका अनुसार घाईते खड्कालाई दुई लाख ९३ हजार ७५ रुपियाँ हस्तान्तरण गरिएको छ । वडा अध्यक्ष घर्तीले उपचारको लागि रकम संकलन गरेर पठाउने सबै मनकारीहरुलाई धन्यबाद व्यक्त गर्नुभयो । 

३० वर्षिय घाईते खड्का सहाराविहिन हुनुहुन्छ । उहाँ एक वर्षको हुँदा रोजगारीको लागि भारत जानुभएका उहाँ बुवाको उतै निधन भएको थियो भने आमाले अर्को विवाह गर्नुभएको थियो ।

सहाराविहिन खड्काले बस दुर्घटनाले आफ्नो जीवन नै धरापमा रहेको बेला यति ठुलो रकम पाएर उपचार गर्न पाउदा नयाँ जीवन पाउने आशा पलाएको बताउनुभयो ।  दुर्घटनामा घाईते हुँदा उहाँको टाउकोमा गम्भिर घाईते हुनुभएका उहाँ उपचारकै क्रममा हुनुहुन्छ । 

सहयोग रकम संकलनमा समन्वय गरिरहनुभएका पत्रकार नारायण ओलीले उक्त रकम सानिभेरी गाउँपालिका र बाँफिकोट गाउँपालिका घर भई हाल अमेरीका रहनुहुने ३० जना र दक्षिण कोरियामा रहनुहुने पाँच जना युवाहरुले पठाएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अमेरिकाबाट खड्काको उपचारका लागि दुई लाख ६८ हजार ७५ रुपियाँ र दक्षिण कोरियाबाट २५ हजार रुपियाँ सहयोग प्राप्त भएको हो । अमेरीकासहित अन्य देशमा कर्मथलो बनाई बसिरहेका रुकुमेली युवाले विभिन्न समयमा यस खालका सहयोग गरिरहेको पाईन्छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्