Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पितिबाङ खोलाले ह्युम पाइप बगाएपछि राप्ती राजमार्ग अवरुद्ध

आइतबार, वैशाख ३०, २०८१
tribeni2

राप्ती राजमार्ग अन्तर्गतको रुकुम पश्चिम खण्ड अबरुद्ध भएको छ । राजमार्गको मुसीकोट नगरपालिका ११ र १२ स्थित पितिबाङ खोलामा आएको बाढीको कारण राजमार्ग अवरुद्ध भएको हो ।  

शनिबार दिउँसो आएको पानीको कारण खोलामा बाढी आएपछि खोलामा राखिएका ह्युम पाइप बगाएको र राजमार्ग अवरुद्ध भएको मुसिकोट नगरपालिका वडा नम्वर १२ का वडा अध्यक्ष धिरण सिर्पालीले जानकारी दिनुभयो । 

उहाँका अनुसार खोलामा आएको ठुलो बाढी र ह्युम पाईप बगाएपछि यातायातका साधानहरु रोकिएका छन् । रुकुम पूर्वको रुकुमकोट, रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटबाट राप्ती राजमार्ग हुँदै सल्यान, दाङ, नेपालगञ्ज र काठमाडौं जाने सवारी साधनहरु शनिबार बेलुकादेखि अवरुद्ध भएका छन् ।

यसका साथै स्थानीयस्तरमा सञ्चालन हुने सवारी साधनहरु समेत अवरुद्ध रहेको वडा अध्यक्ष सिर्पालीले जानकारी दिनुभयो ।  यातायात अवरुद्ध भएपछि सयौ यात्रु तथा सर्वसाधारणहरुले सास्ती खेप्नु परेको छ । 

डिभिजन सडक कार्यालय चौरजहारीका प्रमुख तेजस्वी शर्माले अहिले पनि बाढी ठुलो मात्रामा रहेकोले तत्कालको लागि डाईभर्सन गर्ने काम भईरहेको जानकारी दिनुभयो । खोलामा पानीको मात्रा कम भएपछि आजै करिब एक दर्जन ह्युम पाइप राखेर यातायात सञ्चालनमा सहजता ल्याउने शर्माले बताउनुभयो । अहिले खोलामा स्काईभेटरको प्रयोग मार्फत डाईभर्सनको काम भईरहेको छ । 

पुल निर्माण अलपत्र

यस खोलामा पुल निर्माणको काम सुरु भएतापनि अहिले अलपत्र अवस्थामा रहेको छ । २०७८ बैशाख ७ गतेसम्म पुल निर्माण गर्नेगरी संरक्षण निर्माण सेवा प्रालि र डिभिजन सडक कार्यालय चौरजहारी बिच २०७६ असार ८ गते कार्य सम्झौता भएको थियो ।

मूल्य अभिवृद्ध कर बाहेक चार करोड १२ लाख ३९ हजार ३७५ निर्माण लागत रहेको उक्त पुल ४ वर्षदेखि अलपत्र अवस्थामा छोडिएको छ । पुल नबन्दा पैदल यात्रुहरु, यात्रुवाहक सवारी साधनहरु, उद्योगी व्यवसायीका मालवाहक गाडीहरु, बिरामी बोकेका एम्बुलेन्सहरुले सास्ती पाइरहेका छन् ।

ठेकेदारको लापरबाहिको कारण पुल निर्माणको काम अवरुद्ध भएको भन्दै स्थानीयस्तरमा चर्को बिरोध हुने गरेको छ । डिभिजन सडक कार्यालयले ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता तोड्ने तयारी भईरहेको जनाएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०९:५८
प्रतिक्रिया दिनुहोस्