रुकुममा सबै सिट माओवादीलाई दिएर गल्ति गरेछौं : उपसभापति खड्का

बुधबार, जेठ २, २०८१

रुकुम पश्चिम । नेपाली काँग्रेसका उपसभापति पुर्णबहादुर खड्काले चुनावमा गठबन्धनको नाममा रुकुम पश्चिममा सबै सिट माओवादीलाई दिनु गल्ती भएको बताउनुभएको छ । उहाँले अघिल्लो पटकको प्रदेश र संघीय निर्वाचनमा रुकुम पश्चिमको सबै सिट नेकपा (माओवादी केन्द्र) लाई दिने निर्णय गलत गरिएको स्वीकार गर्नुभएको छ । 

नेपाली काँग्रेस रुकुम पश्चिमको सातौ जिल्ला अधिवेशनपछिको ऐतिहाँसिक प्रथम जिल्ला सम्मेलनलाई मुसिकोटमा सम्बोधन गर्नुहुँदै खड्काले रुकुमका जनताले माओवादीबाट पाएको पीडा, दुख, यातना, विगतको भोगाई अनुसार गठबन्धन त्यो तरिकाले गर्नुहुन्थेन भनेर गरेको कुरा सहि रहेको र नेतृत्वले कमजोरी गरेको स्वीकार गर्नुभयो । यो कुरा आफू रुकुम आएपछि प्रष्ट भएको समेत उहाँले बताउनुभयो । 

काँग्रेसले आफूले सहमति गरेपछि कार्यान्वयन गर्छ भन्ने कुराको प्रमाण रुकुमबाट समेत देखिएको उहाँले जनाउनुभयो । यसका साथै गठबन्धनमा धोका दिएको नेकपा (माओवादी केन्द्र) लाई राजनैतिक तरिकाले जवाफ दिने समेत उहाँले बताउनुभएको छ ।

उपसभापति खड्काले काँग्रेससँग मिलेर चुनाव जितेको माओवादीले सत्ताको लागि धोकाको खेल खेलेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले यतिमात्रै संकेत गर्न चाहन्छु, धोकाको जवाफ राजनीतिक तरिकाले समयक्रममा दिईनेछ ।’ 

निवर्तमान उपप्रधानमन्त्री तथा रक्षामन्त्री समेत रहनुभएका खड्काले वर्तमान सरकारको स्थायीत्व धेरै नरहेको समेत उल्लेख गर्नुभयो । कार्यक्रममा उपसभापति खड्काले आगामी चुनावहरुमा नेपाली काँग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने र बहुमतसहितको सरकार बनाउने गरी चुनावमा होमिने बताउनुभयो । यसका लागि उहाँले गाउँगाउँका काँग्रेसका संगठनहरु चलायमान बनाउन र तयारी गर्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो । काँग्रेसका सहि निर्णय र गतिविधिहरु जनताको बिचमा पुर्याउन समेत आवश्यक रहेको उहाँको भनाई छ ।

कार्यक्रममा उपसभापति खड्काले पार्टीमा रुपान्तरण र पुनर्निर्माणको आवश्यकता रहेको बताउनुभयो । उहाँले हरेक वर्षमा बिशेष अभियान चलाउने र २०८४ मा महाअभियान चलाउने गरी काँग्रेस लागेको उल्लेख गर्नुभयो । यसका लागि लाखौ युवाहरुलाई पार्टीमा आकर्षित गर्ने र आवद्ध बनाउने अभियान प्राथमिकताका साथ चलाउनुपर्ने उहाँको भनाई छ । 

पार्टीको आगामी केन्द्रिय समिति बैठकबाट विधान संशोधन सुझाव समिति बनाएर देशभरबाट सुझाव संकलन गर्ने समेत उहाँले बताउनुभयो । केन्द्रिय समिति बैठकमा महासमिति बैठकमा प्रस्तुत भएका पार्टीको राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र नीतिहरु, पार्टीको सांगठनिक गतिविधि, रणनीति र कार्य नीति तथा मुलुकको अहिले सन्दर्भमा पार्टीको राजनैतिक दृष्टिकोणको बिषमा छलफल गरेर टुंगो लगाउने उहाँले जानकारी दिनुभयो । 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १९:५६
प्रतिक्रिया दिनुहोस्