Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

विद्यालयको छाना नभएपछि रुखको छहारी बन्यो कक्षाकोठा

रुखको छाया जताजता सर्छ, उतै उतै विद्यार्थी सारेर पढाइ हुन्छ
बिहीबार, जेठ ३, २०८१
tribeni2

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–४ स्थित इन्द्रज्योति आधारभूत विद्यालयमा ७५ जना बालबालिका अध्ययनरत छन् । उनीहरूको कक्षाकोठा भनेको रुखको छहारी हो । घामलाग्दा रुखमुनि पढाइ हुन्छ, पानी पर्दा भने पढाइ हुँदैन । घामका कारण रुखको छाया जताजता सर्छ, उतै उतै विद्यार्थी सारेर पढाइ हुने गरेको छ । 

गत चैत १७ गतेको हावाहुरीले विद्यालयको छाना उडाएपछि उनीहरूको पठनपाठन रुखकै छहारीमा हुने गरेको छ । विद्यालयको तीनकोठे भवन डेढ महिनासम्म पनि मर्मत हुन सकेको छैन । मर्मतसम्भार हुनुको साटो थप लथालिङ्ग बन्दै गएको छ । गत कात्तिक १७ गतेको भूकम्पबाट जोगिएको विद्यालय भवनको छाना हावाहुरीले उडाएपछि पठनपाठनमा समस्या भएको हो ।

कक्षा १ मा अध्ययनरत छात्रा रितु चनेलले विद्यालय भवन नहुँदा विद्यालयनजिकैको सल्लाको रुखमुनि बसेर पढ्ने गरेको बताउनुभयो । कक्षा २ मा अध्ययनरत छात्र माइकल विष्टले विद्यालयमा भवन नहुँदा कहिले खुला चौरमा त कहिले रुखको छहारीमा बसेर पढाइ हुने गरेको दुःखेसो पोख्नुभयो । विष्टका अनुसार रुखले घाम छले पनि पानी नछेक्ने भएकाले पानी पर्नेबित्तिकै झोला बोकेर नजिकैका गाउँलेको घरमा ओत लाग्न जानुपर्ने अवस्था छ । 

विद्यालयमा प्रधानाध्यापक कल्पना बिएम विष्टले घाम लागेका बेला रुखको छहारी खोज्दै पढाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । दिनमा तीन/चार पटक रुखको छायासँगै कक्षा सार्नुपर्ने अवस्था रहेको छ । अब वर्षा लाग्न थालेकाले कहाँ, कसरी पढाउने भन्ने चिन्ता थपिएको छ । उहाँले नयाँ शैक्षिक सत्र सुरु भएदेखि विद्यालयनजिकैको रुखको छायामा राखेर बालबालिकालाई पढाइरहेको बताउनुभयो । 

Indrajyoti-school-Rukum_Raju-(3)-1715831814.jpg
टहरामा कार्यालय

बालशिक्षादेखि कक्षा २ सम्म पढाइ हुने यस विद्यालयमा ४० जना छात्रा र ३५ जना छात्र छन् । विद्यालयको भवन नै लथालिङ्ग भएपछि कार्यालय भवन स्थानीयको टहरामा राखिएको छ । प्रशासनिक कार्यसम्पादन, कागजातहरूको सुरक्षा, हाजिरी रजिस्टरलगायतका महत्वपूर्ण सामान स्थानीयको टहरामा थन्काइएको प्रधानाध्यापक विष्टले जानकारी दिनुभयो । 

विद्यालयको भवन मर्मत तथा निर्माणका लागि कुनै पनि निकायबाट चासो नभएको गुनासो रहेको छ । विद्यालयको छानो उडाएको अवस्थासहितको फोटो र आवश्यक कागजातसहित वडा कार्यालय, नगरपालिका, शिक्षा कार्यालय, सामाजिक विकास कार्यालयमा निवेदन पेस गरिएको छ तर हालसम्म पनि कहीँकतैबाट माग सुनुवाइ हुन सकेको छैन ।

यस विषयमा आठबिसकोट नगरपालिकाका शिक्षा अधिकृत इन्द्रबहादुर विष्टले विद्यालयको छाना मर्मतका लागि आवश्यक सामग्री व्यवस्था गरिसकेको दाबी गर्नुभयो ।

प्रक्रियागत रूपमा केही ढिलाइ हुन पुगे पनि विद्यालयमा आवश्यक जस्तापातासहितका सामग्री पठाइसकिएको उहाँको भनाइ छ । चाँडै नै बालबालिकालाई भवनकै कक्षाकोठामा राखेर पढाइ सुचारु हुने शिक्षा अधिकृत विष्टले जानकारी दिनुभयो ।   

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ०९:४२
प्रतिक्रिया दिनुहोस्