चौरजहारीस्थित एमाले पार्टी कार्यालयमा तालाबन्दी 

अध्यक्ष मण्डलद्वारा ओलीलाई अध्यक्ष घोषणा 
बिहीबार, जेठ ३, २०८१

रुकुम पश्चिम । एकलौटी रुपमा नगर कमिटीको टिम घोषणा गरेको भन्दै रुकुम पश्चिमकाे चौरजहारीस्थित नेकपा (एमाले) को पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । चौरजहारी नगरपालिका –२ स्थित यदु स्मृति प्रतिष्ठान तथा पार्टी कार्यालयमा पार्टीकै कार्यकर्ताद्वारा कार्यालयमा तालाबन्दी भएको हो ।

गत मंगलबार नेकपा एमाले चौरजहारी नगरकमिटीको दोश्रो अधिवेशन उद्घाटन भएको थियो । त्यसपछि सुरु भएको बन्द सत्रपछि नयाँ नेतृत्व चयनको प्रक्रियामा विवाद भएको थियो ।

सहमतिको प्रक्रियाबाट नेतृत्व चयनको प्रयास गरिएको तर सहमति हुन नसकेपछि मतदानको माग गरिएको थियो । तर निर्वाचनको अध्यक्ष मण्डलले अध्यक्ष सहितको टिम घोषणा गरेपछि आक्रोशित कार्यकर्ताहरुले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।

नगर कमिटि अध्यक्षका आकांक्षी ओमप्रकाश आचार्यका अनुसार अध्यक्ष मण्डलले एकलौटी रुपमा नगर कमिटी घोषणा गरेपछि कार्यकर्ताहरु आक्रोशित भएका हुन् । उनीहरुले सहमति नभए मतदान मार्फत नेतृत्व चयनको माग राखेका छन् । 

एमाले रुकुम पश्चिमका जिल्ला सचिव शशिराम परियारको अध्यक्षतामा आठ सदस्यीय अध्यक्ष मण्डल रहेको थियो । उक्त अध्यक्ष मण्डलका संयोजक परियारसहितका चार जनाले कार्यालयको ढोका बन्द गरेर छतमा गएर नेतृत्व घोषणा गरेको बताईन्छ । 

अध्यक्ष  र उपाध्यक्ष बाहेक अन्य पदमा भने सहमति भएको बताईन्छ । अध्यक्ष पदमा ओम प्रकाश आचार्य र अतिराम ओली र उपाध्यक्षमा कपिल बि.क. र टिकाराम बस्नेतको दाबी रहेको थियो । तर निर्वाचन अध्यक्ष मण्डलले अतिराम ओलीलाई अध्यक्ष र कपिल बिकलाई उपाध्यक्ष सहितको नयाँ नेतृत्व घोषणा गरेको छ । 

नगर कमिटीको सचिवमा डिल्लीराज शर्मा र उपसचिवमा सीता बिक सर्वसम्मत चयन भएको बताईएको छ । ४९ सदस्यीय नगर कमिटी चयन गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १२:२६
प्रतिक्रिया दिनुहोस्