एमाले चौरजहारीमा अर्को नगर कमिटी घोषणा 

बिहीबार, जेठ ३, २०८१

नेकपा (एमाले) चौरजहारी नगर कमिटीको नयाँ नेतृत्व चयनको बिषय थप विवादित बनेको छ ।

नगर कमिटीको दोश्रो अधिवेशनका लागि चयन भएको अध्यक्ष मण्डलले ९० प्रतिशत प्रतिनिधीहरुको भावना विपरित गएर जबरजस्त र पार्टीको बिधान विपरित नगर कमिटी घोषणा गरेको भन्दै पार्टी कार्यालयमा तालाबन्दी गर्नदेखि साेहि अध्यक्ष मण्डलका अन्य सदस्यहरुबाट नगर कमिटी घोषणा गरिएको छ । 

यस अघि पार्टीका जिल्ला सचिव शशिराम परियारको संयोजकत्वमा रहेको अध्यक्ष मण्डलले अतिराम ओलीको अध्यक्षतामा नयाँ नगर कमिटी घोषणा गरेको थियो । त्यसपछि अध्यक्ष पदका दाबेदार ओम प्रकाश आचार्यसहित आक्रोशित कार्यकर्ताले चौरजहारी नगरपालिका -२ मा रहेको यदु स्मृति प्रतिठान तथा पार्टी कार्यालयमा तालाबन्दी  गरेका थिए । अहिले तालाबन्दी भने खोलिएको छ । 

अध्यक्ष मण्डलका बहुमत सदस्यहरुलाई बैठकमा निशेध गरेर कमिटी घोषणा गरिएको भन्दै लोकेन्द्र मल्ल, भद्रा कुमारी खड्का, सरिता सुनुवार र टोपेन्द्र हमालसहितको अध्यक्ष मण्डलले नयाँ नगर कमिटी घोषणा गरेको हाे । 

उक्त अध्यक्ष मण्डलले ओम प्रकाश आचार्यलाई नगर कमिटीको अध्यक्षमा घोषणा गरेको छ । अन्य पदहरुमा भने यस अघि घोषणा गरिका पदधिकारीहरु नै रहेको बताईन्छ । उपाध्यक्षमा कपिल बिक, सचिवमा डिल्लीराज शर्मा, उपसचिवमा रिरु प्रसाद लामिछाने र सीता सार्कीलाई घोषणा गरिएको छ । 

जेठ १ गते उद्घाटन भएको चौरजहारी नगरकमिटीको दोश्रो अधिवेशन सोहि दिनमै बन्दसत्रमा प्रवेश गरेको थियो । निर्वाचन प्रक्रियाको क्रममा उपाध्यक्ष, सचिव र दुई उपसचिव पदमा सहमति भएतापनि अध्यक्ष पदका लागि भने सहमति हुन सकेको थिएन । 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १४:०२
प्रतिक्रिया दिनुहोस्