क्यान्सरपीडित बुढालाई काँग्रेस कार्यकर्ताद्वारा उपचारको लागि सहयोग

बिहीबार, जेठ ३, २०८१

नेपाली काँग्रेस रुकुम पश्चिमका कार्यकर्ताहरुले एक क्यान्सरपीडित महिलाको उपचारको लागि आर्थिक सहयोग गरेका छन् । 

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका –५ हुकाम घर भई हाल रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १ सल्ले बस्ने क्यान्सरपीडित ४५ वर्षिया मनहुकी बुढालाई २५ हजार रुपियाँ सहयोग गरिएको हो । 

लामो समयदेखि स्तन क्यान्सरबाट पीडित बुढाको २०७८ सालमा शल्यक्रिया गरिएको थियो । उक्त समस्या बल्झिदै अहिले उहाँको कलेजोमा समेत संक्रमण भएको छ । 

उहाँ वी. पि. कोईराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा नियमित उपचाररत हुनुहुन्छ । हालसम्मको उपचारको क्रममा जायजेथा बेचिएको र ऋण समेत बढेपछि उहाँको उपचारमा समस्या भएको छ । 

उहाँको उक्त समस्यामा सानै भएपछि सहयोग गरिएको नेपाली काँग्रेस रुकुम पश्चिमका प्रवक्ता लालबहादुर ओलीले बताउनुभयो । उहाँका अनुसार २९ जना काँग्रेस कार्यकर्ताबाट संकलित २५ हजार ७१० रुपियाँ आज बिरामी बुढालाई हस्तान्तरण गरिएको छ । 

नेपाली काँग्रेस रुकुमपश्चिमको सातौ जिल्ला अधिवेशनपछिको ऐतिहाँसिक प्रथम जिल्ला सम्मेलनको बन्दसत्रमा उपस्थित केहि कार्यकर्ताहरुले स्वतस्फूर्त रुपमा सहयोग गरेको उक्त रकम संकलन गरेका हस्तान्तरण गरिएको हो । उक्त रकम नेपाली काँग्रेस रुकुम पश्चिमका पार्टी सभापति प्रेम प्रकाश ओलीले हस्तान्तरण गर्नुभएको थियो । 

क्यान्सरपीडित बुढाका एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँका श्रीमान् रुकुम कारागारमा कैदीबन्दी हुनुहुन्छ । 

बुढाको उपचार खर्चमा लाखौ रकम लागेपछि पढ्दै गरेका छोराछोरीहरुको पढाई खर्चमा समेत समस्या भईरहेको छ । अहिले पनि प्रत्येक चार हप्ताको अवधिमा चितवन गएर उपचार गराउनु पर्ने र उपचार खर्च जुटाउन धौ धौ परेको बुढाले बताउनुभयो । 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  २१:२१
प्रतिक्रिया दिनुहोस्