कविता : म पनि हिँडे साथी !

शनिबार, जेठ ५, २०८१

कविता : म पनि हिँडे साथी

  • छबिलाल बिष्ट 

प्रिय साथी‌ !
तिमीले गाउँ छोडेको धेरै भयो 
अब म पनि यो गाउँ छोडेर
तिमी जस्तै बिरानो मुलुकतिर जाँदैछु ।

मलाई नसोध्नुस् साथी
तिमिलाई कस्तो छ ? भनेर 
कति दुखेको होला यो छाती 
मात्र एक्लोपन छ यहाँ साथी
यो मन चर्केको छ
र, विगततिर फर्केको छ ।

त्यो छातीमा, यो मनमा 
गाउँको माया, ठाउँको माया 
साथीभाई, इष्टमित्र,  घरको छाया 
सम्झेउ त आँखा छोपेर । 

अब त म पनि 
तिम्रो जस्तै मन र मुटु लिएर
गाउँ छोड्दाका थोपा आँशु पिएर
सम्झनाका कोसेलीहरु साँचेर
साहुकाे ऋण बोकेर 
वचनका‌ प्रहार सहेर 
जबरजस्ती मनमा रहर थमाएर 
दलालले मिलाईदिएको भिसा समाएर
अब पनि हिँडे साथी, गाउँ छुटाएर । 

फाटेका मनहरु छन् यता
रित्तो हातले भर्न नसकिने
साहुले लगाएका वचनहरुले घोच्छन्
यसैपनि मर्न नसकिने ।

साँझ बिहान साहूको हलो जोतेर पनि
नङ्ग्रा खियाएर उसकै घर आँगन पोते पनि
सकिनँ मैले, एकमुठ्ठी जाउलो जुटाउन
बिरामी बाआमाको उपचार गराउन 
सिटामोल पनि किन्न आम्दानी भएन
सन्तानको खुशि किन्ने केहि मेसो रहेन 
साथी, म पनि हिडे परदेश अब । 

उहि पुरानो झुप्रोभित्र थन्किएर
रहरहरु अझै जल्न थालेका छन् 
सन्तानहरुका चाहना भने
आधुनिकतासँगै बल्न थालेका छन्
बाआमाको ओखती जुटाउन
सन्तानको रहर पुर्याउन
म पनि तिमी जस्तै सहर पस्दैछु ।

तिमीले समयमै सहर पसेर 
रहरहरु किन्न सक्यौ 
दुनिँया पैसामा छ, यो चिन्न सक्यौ
तिम्रो दुखको कमाईले मेरा आँखा खुले 
आफ्ना रहरहरु त अब मैले पनि भुले
तिमीसँगै दुःखको गोरेटोमा पसिन मिसाउन 
म भित्रको भोकको सारङ्गी सुनाउन
म पनि हिडे साथी
परदेशमा सम्पती कमाउँन । 

म विवश छु साथी
यो गाउँ, यो ठाउँ सुनसान बनाएर
अनकन्टार सहरको यात्रामा निस्किन
सपनाहरुको कुम्लो सजाएर
पसिनाको मात्रामा मिसिन ।

त्यो अपरिचित शहरभित्र
मेरो सपनाको संसार
भेटाउँछु कि भेटाउदिन साथी ?
गाउँ  छोडेर गएपछि
आँखाबाट बगेका आँशुका धारा
मेटाउँछु कि मेटाउँदिन साथी ?

- सानीभेरी गाउँपालिका -३, रुकुम पश्चिम

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १९:५१
प्रतिक्रिया दिनुहोस्