रुकुममा वाईसियलले आयोजना गरेको फुटबल स्थगित

२०७८ कार्तिक ९

रुकुम पश्चिम / कोजाग्रत पुर्णिमाको अवसरमा माओवादी केन्द्र निकट युवा संगठन वाईसियलले चौरजहारीमा आयोजना गरेको फुटबल प्रतियोगिता स्थगित भएको छ ।

चौरजहारी नगरपालिकाको वडा नम्वर ३ को वाईसियलले गत कार्तिक ५ देखि सञ्चालन गरेको फुटबल खेलाडीहरुको विवादको कारण सोमबार देखि स्थगित भएको हो । कार्तिक ४ गतेका दिन चौरजहारी नगरपालिकाका प्रमुख बिशाल शर्माले उक्त प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।

खेलाडिहरु बिच विवाद भएर स्थिती नियन्त्रण बाहिर जान थालेपछि आयोजकले अर्को निर्णय नहुदा सम्मका लागि खेल स्थगन गरेको आयोजक समुहका प्रवेश बटालाले जानकारी दिनुभयो। वाईसियल र टागागाउँको बिचमा सोमबार भएको खेलमा खेलाडीहरुबिच भनाभन र हातपातको स्थिती बनेपछि अर्को सूचना नभएसम्मको लागि खेल स्थगित गरिएको हो ।

उहाँका अनुसार सेमी फाईनलमा पुगेका वडा नम्वर १ को नाखिरा, वडा नम्वर ३ को टाटागाउँ र आयोजक बिचको टाईसिटमा नाखिरा समुह बाईमा परेको थियो ।

आयोजक वाईसियलले सुर्खेतबाट ७ जना खेलाडीहरु हायर गरेर ल्याएको थियो । उनीहरु माथी टाटागाउँको टिमले आक्रमक शैली देखाएकोले खेल खेल्न नमानेको बताईएको छ । खेल बिचमा लफडा हुन थालेपछि आयोजक टिमले आफ्नो तर्फबाट खेल्न भनेर ल्याएर खेलाडीलाई नै सुरक्षा गर्न नसकेको बताईएको छ ।

प्राप्त जानकारी अनुसार, राजनीतिक रुपले काँग्रेस निकट देखिएको टाटागाउँ समुह र वाईसियल बिच अघिल्लो दिन देखि नै विवाद देखिएको थियो । आईतबार दिउँसो ४ बजे आयोजक र टाटागाउ बिच हुने भनेको खेलमा आयोजकका खेलाडीहरु मैदानमा आएता पनि टाटागाउ समुहका आएका थिएनन् । केहिबेर पछि आयोजकको तर्फबाट खेल्न सुर्खेतबाट आएका खेलाडिलाई कसैले दवाव दिएको भन्दै उनीहरु झोला बोकेर खेल मैदानबाट बाहिर निस्केका थिए । सोहि बेला आयोजक समुह समय नपुग्ने भनेर भोलि खेल्ने मनसाय थियो भने टाटागाउँ समुह छिटो खेलम् भन्दै मञ्चमै पुगेको थियो ।

सोमबार बिहान तोकिएको खेल पनि समयमा सुरु भएन । दिउँसो करिब १ बजे तिर खेल सुरु भयो तर सुरु भएको केहि बेरमै आयोजक तर्फका खेलाडिलाई आक्रमक शैली देखाएको, खुट्टामा हानेको भन्दै खेल खेल्न मानेका थिएनन् । हात हालाहालको अवस्था भएपछि आयोजकले अर्को निर्णय नभए सम्म खेल नखेलाउने भनेर मन्च नै उठाएर गएको हो ।

प्रतियोगितामा रुकुम पश्चिम र जाजरकोटका १२ समुहले भाग लिएका थिए। प्रतियोगिताको विजेतालाई ८० हजार र उप विजेतालाई ४५ हजार नगद पुरस्कार तोकिएको थियो ।

आयोजकले जिल्ला बाहिरबाट भाडामा खेलाडि ल्याएको, आयोजक टिम प्रति नै आक्रमक बन्दा वाईसियल कमजोर बनेको प्रतिक्रिया प्राप्त भएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १३:१०
प्रतिक्रिया दिनुहोस्