Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भेरी करिडोर अन्तर्गत तल्लुबगरको ‘बेलिब्रिज’  सञ्चालन

आइतबार, जेठ ६, २०८१
tribeni2

भेरी करिडोर अन्तर्गत रुकुमपश्चिमको आठबीसकोट नगरपालिका –४ छरेबगर र जाजरकोटको नलगाड नगरपालिका –१२ जोड्ने भेरीनदी माथि तल्लुबगरको ‘बेलिब्रिज’ सञ्चालनमा आएको छ ।

त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको तल्लुबगर ‘बेलिब्रिज’ शनिबारबाट सञ्चालनमा आएको छ ।
भेरी करिडोर कार्यालय जाजरकोटका प्रमुख सुनिल रञ्जितकारले भारत–नेपाल हुँदै चीन जोड्ने भेरी करिडोर अन्तर्गत तल्लुबगर बेलिब्रिज निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको बताउनुभयो । बेलिब्रिज सञ्चालनमा आएसँगै अब डोल्पा जिल्ला सिधा सडक सञ्जाल जोडिएको छ । 

तीन वर्षअघि सडक डिभिजन कार्यालय चौरजहारीले उक्त बेलिब्रिज निर्माणका लागि ठेक्का खुलाएको थियो । काम सुरु भएको तीन वर्षपछि बेलिब्रिज सञ्चालनमा आएको हो । २०७८ पुसमा हिम सगरमाथा खड्का कृष्ण जेभीले तीन करोड ८१ लाख रुपियाँमा ‘बेलिब्रिज’ निर्माणको ठेक्का पाएको थियो । विविध कारणले ‘बेलिब्रिज’ निर्माणमा ढिलासुस्ती भए पनि अहिले निर्माण सम्पन्न भइ सञ्चालनमा आएको हो । 

गत वर्षको बैशाख ७ गते यहि बेलिब्रिज निर्माणको क्रममा भाँचिएपछि दुई जना कामदारको मृत्यु भएको थियो भने सात जना घाईते हुनुभएको थियो । हाल निर्माण सम्पन्न भएपछि कार्यालयको प्राविधिक टोलीले शुक्रबार बेलिब्रिजको भारवाहन क्षमता परीक्षण गर्दा सफल भएको थियो । बेलिब्रिजले २५ टनसम्म भार थेग्नसक्ने कार्यालय प्रमुख रञ्जितकारले बताउनुभयो ।

यो सडकलाई रुकुमपश्चिम, जाजरकोट र डोल्पाको लाईफलाईनका रुपमा लिईएको छ । यो करिडोरले भारतको रुपैडियादेखि नेपालगञ्ज हुँदै चीनको सीमाक्षेत्र मोरिम्ला नाका जोड्ने भएकाले यस सडकलाई राष्ट्रिय महत्वको सडकको रुपमा समेत लिईन्छ ।

करिडोरअन्तर्गत तल्लुबगर, नलगाड र खदाङमा पक्की पुल निर्माण सुरु भएको बताईएको छ । अन्य खोलाहरुमा ह्युमपाइप राखेर डोल्पासम्म सिधा यातायात सञ्चालन गरिने तयारी भईरहेको छ । 

भेरी करिडोर कार्यालयका अनुसार ११८ किलोमिटर लम्बाइ रहेको जाजरकोट डोल्पा सडकखण्डभित्रको ५६ किमी सडकमा अहिले काम भइरहेको छ । ६२ किमी सडकक्षेत्र फराकिलो बनाउने काम सुरु गरिएको छ । यो पुल निर्माण पछि १०६ मेगावाट जगदुल्ला जलविद्युत आयोजना निर्माणमा समेत सहजता हुने विश्वास रहेको छ । 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ०७:३४
प्रतिक्रिया दिनुहोस्