प्रकाश दुतराजको ‘करिम’ गीत हटाउन माग गर्दै चौरजहारीका नगर प्रमुखद्वारा निवेदन

आइतबार, जेठ ६, २०८१

कलाकार प्रकाश दुतराजको ‘करिम’ बोलको गीत हटाउन माग गरिएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीले दुतराजको उक्त गीत युट्युबबाट हटाउन माग गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र केन्द्रिय चलचित्र जाँच समितिमा निवेदन दिनुभएको छ ।  

वादी समुदायको कथामा आधारित उक्त गीतले वादी समुदायप्रतिको अपमान, विभेद र शोषणलाई प्रश्रय गरेकोले उक्त गीत हटाउन तथा प्रसारण बन्द गर्न निवेदन पठाईएको नगर प्रमुख वादीले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार प्रतिष्ठान र समितिमा छु्ट्टाछुट्टै निवेदन पठाईएको छ ।  

उक्त गीतमा वादी समुदायको स्वाभिमानमा ठेस पुग्नेगरी सामाग्रीहरु तयार पारिएको वादीको भनाइ छ । प्रतिष्ठान र समितिलाई पठाईएको निवेदनमा ‘विद्यालय पढ्दै गरेका बालबालिका र वादी समुदायप्रतिको अपमान विभेद र शोषणलाई प्रश्रय पुग्ने गरी प्रकाशित उक्त सामाग्री तत्काल युट्युबबाट हटाउन जोडदार माग गर्दछु’, भनेर उल्लेख गरिएको छ । 

नेपालको संविधानको धारा २४ मा जातीय छुवाछूत तथा विभेदविरुद्धको हकमा भएको उत्पत्ति, जात, जाति वा शरीरिक अवस्थाको कुनैपनि व्यक्ति वा समुदायलाई उच्च वा नीच दर्शाउने कार्य गर्न नहुने हकको बर्खिलाप हुनेगरी तयार गरिएको उक्त सामाग्रीले वादी समुदाको मौलिक हकमा समेत आघात पुगेको नगर प्रमुख वादीको बुझाई रहेको छ । 

गीतबाट वादी समुदायलाई देह व्यापारको कलङ्कको टीका लगाउने प्रयत्न गरी मानव अधिकारको समेत हनन् भएको कुरा निवेदनमा उल्लेख छ । नगर प्रमुख वादीले अझै पनि वादी समुदायलाई हेर्ने दृष्टिकोणमा अन्तरआत्मदेखि नै सकारात्मक बन्न नसकेको समेत जनाउनुभयो । 

उक्त गितमा वादी समुदायका बालबालिकाहरु देहव्यापारबाट जन्मेका वेवारिसे हुन् भन्ने कुरा देखाउन खोजिएको र यसले सिङगो वादी समुदाय र पहिचान हुन नसकेका बालबालिकाहरुको भावनामा गम्भिर चोट पुगेको उहाँले बताउँनुभयो । 

सभ्य, समतामूलक र न्यायपूर्ण समाज निर्माणमा सहयोग गर्नुको साटो समाजलाई बिखण्डन र स्वाभिमानमा चोट पुर्याउने उक्त सामाग्री यथासिघ्र हटाउन जोडदार माग गरेर निवेदन दिईएको नगर प्रमुख वादीले जानकारी दिनुभयो । 

उता गीतका सर्जक दुतराजले पनि गीतमा आफूले गल्ती गरेको महसुस भएको कुरा सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नुभएको छ । विरोधका आवाज उठेलगत्तै दुतराजले गीतमा गल्ती गरेको आभास भएको बताउनुभएको हो ।

विवाद र चर्चाबीच उक्त गीतले युट्युबमा सार्वजनिक भएको पाँच दिनमा ६ लाख बढी भ्यूज प्राप्त गरेको छ । इतिहास पढे र बुझेअनुसार कथा र गीतलाई प्रस्तुत गरेको बताउँदै दुतराजले त्यसमा आफ्नो गलत मनशाय नरहेको समेत स्पष्ट पार्नुभएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ०७:५९
प्रतिक्रिया दिनुहोस्