Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
समाचार प्रभाव

हावाहुरीले भत्काएको डेढ महिनापछि विद्यालय भवन मर्मत

कक्षाकोठामै पढ्न पाउँदा बालबालिका खुशी
आइतबार, जेठ ६, २०८१
tribeni2

रुकुम पश्चिमको आठविसकोट नगरपालिका –४ स्थित इन्द्रज्योति आधारभूत विद्यालयको छाना निर्माण गरिएको छ ।

गत चैत १७ गते आएको हावाहुरीको कारण उडाएको छाना डेढ महिनापछि निर्माण भएको हो । छाना मर्मतपछि बालबालिकाहरु कक्षाकोठामै राखेर पठाउन थालिएको छ । 

विद्यालयको जस्तापाताको छाना हावाहुरीले उडाएपछि यस विद्यालयमा अध्यननरत बालबालिकाहरु रुखको छहारीमा बसेर पढ्दै आएका थिए । यस बिषयमा मूलपाटी डटकममा वैशाख ३ गते 'विद्यालयको छाना नभएपछि रुखको छहारी बन्यो कक्षाकोठा' शिर्षकमा समाचार प्रकाशन भएको थियो । 

समाचार प्रकाशनपछि आठविसकोट नगरपालिकाको सहयोगमा भवन मर्मत गरिएको हो । विद्यालयका प्रधानाध्यापक कल्पना बि.एम. बिष्टले आईतबारदेखि बिद्यार्थीहरुलाई कक्षाकोठामै बसाएर पठनपाठन सुरु गरिएको बताउनुभयो । बाल शिक्षादेखि कक्षा २ सम्म पढाई हुने यस विद्यालयमा ४० जना छात्रा र ३५ जना छात्र रहेर ७५ जना बिद्यार्थीहरु रहेका छन् । 

WhatsApp-Image-2024-05-12-at-10.55.38_68c6290c-1716114780.jpg
हावाहुरीले उडाएको अवस्थाको विद्यालय भवन 

हावाहुरीले विद्यालयको छाना उडाएपछि भवन लथालिङ्ग बनेको थियो । बिद्यार्थीहरुलाई घाम लाग्दा रुखमुनिको छहारीमा राखेर पढाउनुपर्ने बाध्यता रहेको थियो । उक्त बाध्यता अन्त्य भएको प्रधानाध्यपक बिष्टले जनाउनुभयो । उहाँले भन्नुभयो, ‘रुखको छाया जताजता सर्छ, उतै बिद्यार्थीहरु सारेर पढाउनुपर्ने अवस्था थियो, आजदेखि कक्षाकोठामै पढाइ भईरहेको छ ।’

विद्यालयको तीन कोठे उक्त भवन मर्मतपछि कार्यालय समेत सोहि भवनमा सारिएको छ । यस अघि स्थानीयको टहरामा कार्यालयका सामाग्रीहरु थन्काईएको थियो । छाना मर्मतपछि सबै सामान सारेर विद्यालय भवनबाटै प्रशासकिन कार्य सुरु गरिएको छ । भवन मर्मतका लागि सहयोग गर्ने आठविसकोट नगरपालिकालाई प्रधानाध्यापक बिष्टले धन्यबाद ब्यत्तिल गर्नुभयो । 

कक्षाकोठामै बसेर पढ्न पाउँदा बालबालिकाहरु खुशि भएका छन् । कक्षा २ मा अध्ययनरत छात्रा बिमला सार्कीले कक्षामै बसेर पढ्न पाउँदा आनन्द लागेको बताईन् । कक्षाकोठा नुहँदा रुखको छहारी खोज्दै सर्नुपर्ने, पानी परेपछि घर जान हतार गर्नुपर्ने अवस्था नभएपछि खुशी लागेको सार्कीको भनाई छ ।

कक्षा १ मा अध्ययनरत छात्र भैरव बिष्टले कक्षाकोठामा बसेर पढ्न पाउँदा घाम र पानीको डर नहुँने बताए । पहिला चौरमा, रुखको छहारीमा बस्नुपर्दा कापीकलम हराउने डर समेत रहेको उनले सुनाए । अब भने कक्षाकोठामा निर्धक्क भएर पढ्ने उनको भनाई छ । 

आठविसकोट नगरपालिकाले उक्त विद्यालयको भवन मर्मतको लागि सहयोग गरेको हो । मर्मतका लागि ५६ वटा जस्तापाता, पाँच बोरा सिमेन्ट, एक ट्याक्टर वालुवा, २० बोरा गिठ्ठी र मिस्त्री खर्च लागेको छ । ५१ वटा जस्तापाता नगरपालिकाले खरिद गरेर पठाईदिएको र अन्य खर्च पनि नगरपालिकाले बेहोर्ने बताईएको छ । 

WhatsApp-Image-2024-05-19-at-07.41.18_512d8ca8-1716114616.jpg
विद्यालयको छाना मर्मत गर्ने क्रममा

 

प्रतिक्रिया दिनुहोस्