Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरी गाउँपालिका र प्रधानाध्यापकहरु बिच सम्झौता

सोमबार, जेठ ७, २०८१
tribeni2

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले ४५ वटा विद्यालयका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ ।

शैक्षिक क्षेत्रमा सुधारका लागि गाँउपालिका भित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका शिक्षा अधिकृत भूपालसिं बिष्टका अनुसार प्रधानाध्यापकहरुसँग भएको बैठकपश्चात सम्झौता गरिएको हो । सामुदायिक विद्यालयको समग्र व्यवस्थापन तथा शैक्षिक उपलब्धीमा थप सुधारका लागि ३९ बुँदे सम्झौता गरिएको उहाँले बताउनुभयो ।

सम्झौतापत्रमा गाउँपालिकाको समग्र शैक्षिक सेवा प्रवाहलाई नतिजामुखी बनाई विद्यालयमा तोकिएको गुणस्तर, परिणाम, समय र लागत प्रभावकारी बनाउने कुरा उल्लेख गरिएको छ ।  विद्यालयको वार्षिक कार्यतालिका निर्माण र कार्यान्वयन, गुणस्तरिय शैक्षिक कार्य तथा वातावरण निर्माण, कक्षा अवलोकन, तथ्यांक तयार, सुशासनमैत्री गतिविधिहरु सञ्चालन, नियमति बैठक लगायतका बुँदाहरुमा सम्झौता गरिएको छ । 

त्यसैगरी सम्झौता पत्रमा हरित विद्यालय र बालमैत्री शिक्षण सिकाइ, जंकफूडरहित खाजा खुवाउने, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ तथा नियमावली, २०७७ का प्रावधानहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने गराउने, सामाजिक परिक्षण मापदण्ड, २०७८ बमोजिम विद्यालयको सामाजिक परीक्षण गर्ने गराउने, विद्यालयमा निरन्तर मूल्याङ्कन प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने व्यवस्था मिलाउने र विद्यालयका प्रत्येक शिक्षकसँग कार्यसम्पादन सम्झौता गर्ने लगायतका बिषय उल्लेख गरिएको छ । 

सम्झौतापछि सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले कार्यसम्पादन सम्झौताका सबै बुँदाहरु अक्षरस पालना हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले शिक्षा समिति र स्थानीय सरकारले गरेका निर्णयको पालना गर्न पनि निर्देशन गर्नुभयो । 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १३:४५
प्रतिक्रिया दिनुहोस्