सगरमाथा आरोहण

जातीय विभेद बिरुद्ध सन्देश दिन सर्वोच्च शिखरमा 

सातै महादेशका सर्वोच्च शिखर चढ्ने लक्ष्य 
मंगलबार, जेठ ८, २०८१
  • बमबहादुर बि.क

सानीभेरी गाउँपालिका वडा नम्वर १० रूकुम पश्चिममा मध्यम परिवारमा जन्मिएको हुँ । महालेखा नियन्त्रक कार्कालय अनामनगरमा रहेर हाल खानीखोला गाउँपालिका काभ्रेमा नायव सुब्वा पदमा काजमा कार्यरत छु । निजामती सेवामा कार्य गरेको २०८० माघ १८ गते ८ वर्ष पुरा भएको छ ।

मैले संसारको छानोको रूपमा रहेको सर्वोच्च शिखर सगरमाथा मिति २०८१ जेष्ठ ६ गते  विहान ५ः५७ बजे सफल आरोहण गरेको कुरा खुशिका साथ शेयर गर्न चाहन्छु । 

Bam_-Sagarmatha_Rukum_Raju-(4)-1716285822.jpg
म किन हिमाल चढ्ने निधो गरे ?

‘हामी पनि सक्छौ’ भन्ने मुल उद्धेश्यसहित मैले हिमाल चढ्ने निर्णय गरें । हाम्रो समाजमा हिमाल चढ्ने काम शेर्पा समुदायको मात्र हो भन्ने बुझाई रहेको छ । अझ भनौ भने हिमाल किन चढ्ने ? के का लागि चढ्ने ? हिमाल चढ्नलाई के के स्रोत साधन चाहिन्छ ? चढ्यो भने के हुन्छ ? नचढ्दा के हुन्छ ? भन्ने समेत ज्ञान नभएको ठाउँको मान्छे म ।

'हामी पनि सक्छौ' भन्ने मुल उद्धेश्यसहित सामाजिक, आर्थिक, राजनैतिक तथा धार्मिक रूपमा पछाडी परेको वा पारिएको समुदायको एक पात्रको रूपमा प्रतिनिधित्व गर्दै सात महादेशका उच्च शिखरहरू आरोहण गर्ने र संविधानले नै जातिय रूपमा छुवाछुत जघन्य अपराधको रूपमा स्विकार गरेको परिप्रेक्ष्यमा सबै धर्म, जातजाति, बर्ग, लिङ्ग तथा समुदाय सबै सम्मान हुन भन्ने मुल सन्देश एउटा साहसिक काम मार्फत रचनात्मक राष्ट्रव्यापी सन्देश दिन हिमाल चढ्ने निधो गरें ।

साबिक मध्यपश्चिम नेपालको विकट जिल्ला रूकुममा १९ वर्ष सम्म संर्घष गरे। आफ्नै जिल्लामा हुर्केको मान्छे जसलाई आफ्नो जिल्ला बाहेक नेपालको यथार्थ परिवेश थाहा थिएन । विक्रम सम्वत २०७२ माघ २० गते २० वर्षको उमेरमा निजामती जागिरको रूपमा पुर्वी नेपालको रामेछापमामा पुगे । विभिन्न कार्यालयमा ६ वर्ष सकारी सेवामा विताएँ । 

उक्त अवधीमा मैले पुर्वी नेपालको प्रायः सबै जिल्ला भम्रण गरे जहाँ जातीय रूपमा व्याप्त विभेद रहेको पाएँ । आफै पनि कतिपय ठाउँमा परिचय नगर्दा सम्म ठिक, जब परिचय गर्यो अनि विभेद भोग्नु परेको थियो र अहिले पनि छ । त्यसलाई सात महादेशका उच्च हिमालहरू आरोहण गरि जातिय छुवाछुत तथा भेदभावलाई हटाउन थौरै भए पनि एउटा सन्देश दिन मेरो अभियान रहेको हो ।

Bam_-Sagarmatha_Rukum_Raju-(1)-1716285820.jpg
नेपालमा कानुनी रूपमा छुवाछुत तथा भेदभाव बन्देज गरिएको छ । सामाजिक रूपमा अझैसम्म जातिय भेदभाव व्याप्त रहेको हुँदा र राज्यका हरेक निकायमा समावेशी, समावेशीकरण र सामन्तलाई अंगिकार गरिएकाले मेरो अभियान मार्फत सन्देश दिन मैले हिमाल चढ्ने अठोट गरेको हुँ । त्यस पछि ‘हामी पनि सक्छौ’ भन्ने मुल उद्धेश्यसहित यात्रीको यात्रा नाम दिएर सात महादेशका उच्च शिखरहरू आरोहण गर्ने लक्ष्य राखें । 

यसै क्रममा सात महादेशको उच्च शिखर मध्येको एक दक्षिण अमेरिकाको सबै भन्दा उच्च शिखर एकान्कागुवा, अर्जेटिनाको स्थानीय समय अनुसार १५ फ्रेबुअरी २०२४ मा विहान ९ः५९ को समयमा सफल आरोहण गर्न सफल भएँ ।

सात महादेशका उच्च शिखर मध्येको एक अफ्रिका महादेशको सबै भन्दा उच्च शिखर किलिमन्जरो तान्जनियाको स्थानीय समय अनुसार २७ सेप्टेम्बर २०२३ मा विहान ६ः१८ बजेको समयमा सफल आरोहण गर्न सफल भएँ ।

हालसम्म यी दुवै हिमाल आरोहण गर्ने नेपालको निजामती कर्मचारीका रूपमा पहिलो आरोही भएको छु । यि हिमाल आरोहण गर्ने निजामती कर्मचारीहरुको रेकर्ड छैन । 

नेपालको किलर माउन्टेनको रूपमा परिचित मनास्लु हिमाल (८ हजार १६३ मिटर उचाई ) को हिमाल २०७६ असोज ६ गते सफल आरोहण गरे । उक्त हिमाल पनि निजामती कर्मचारीको रूपमा पहिलो भएँ । नेपालको लोबुचे पिक ६ हजार १ सय १९ मिटरको उचाई रहेको हिमाल २०७८ बैशाख ११ गते सफल आरोहण गरें ।

सफल आरोहण अर्थात हिमाल चढ्नु आफैमा चुनौती हो । आर्थिक रूपमा ज्यादै खर्चिलो छ । मनासिक शारिरिक रूपमा बलियो हुनु पर्ने कारण त छँदैछ । हिमालमा रहँदा त्यहाँको खानपिन बसोवासले गर्दा विरामी भएमा ज्यान नै जाने खतरा पनि छ ।

हिमाल आरोहण गर्ने काम एक प्रकारको शारीरिक र मानसिक दुवैको खेल हो । जहाँ एक गल्ति जीवन क्षती । सानो–सानो गल्तिले गर्दा ज्यान जाने हुन्छ । 

आरोहिलाई हिमाल आरोहणको क्रममा गल्ति गर्ने छुट एक सेकेन्ड पनि नहुने रहेछ । शारीरिक रूपमा असाध्यै बलियो त हुनु नै पर्याे । तर आफ्नो भाग्य पनि बलियो चाहिने रहेछ ।

किनभने हिमाल आरोहण गर्ने क्रममा मौसम विग्रिएमा आरोहण सफल नहुने र ज्यानै जाने खतरा हुने रहेछ । निजामती कर्मचारी भएको हुनाले समय व्यवस्थापन पनि मु्ख्य चुनौती रह्यो ।

चुनौती र असफलता फरक फरक विषय हुन् । सबै हिमाल आरोही सफल हुन्छन भन्ने छैन । सन् २०२३ जुलाई ३१ मा युरोपको सर्वोच्च शिखर आरोहणको लागि रूसको मस्को एयरपोर्टमा पुगे । मलाई त्यहाँदेखि हिमाल भएको स्थानमा पुग्न अर्के आन्तरिक हवाईजहाजबाट जानु पर्ने थियो । तर जान दिईएन ।

म नेपाल फर्किनु पर्यो । कारण रसिया र युक्रेनको युद्द थियो । त्यस्तै अर्जेन्टिनाको भिषा पाउन असाध्यै गाह्रो भयो । किनभने कागजी प्रकृया लामो झन्झटिलो, भिसाका लागि पनि दिल्ली दुतावास भएकाले दिल्ली जानुपर्ने थियो । अनि दुतावासमा अर्जेन्टिनाका कर्मचारी भन्दा इन्डियाका कर्मचारीले बढी दुख दिने रहेछन् । तान्जनियाको भिषामा त सजिलै भयो किन भने अनराइभल भिसा रहेछ । रसियाको भिसा पनि सजिलै भयो । दुतावास पनि नेपालमै भएकाले झनै सजिलो थियो ।

म आफैमा मध्यम परिवारमा जन्मिएको व्यक्ति । निजामती सेवामा गरेको सेवाबाट दुखजिलो परिवार पाल्न ठिक मात्रै हुने गरेको थियो । उसै त हाम्रो समुदायलाई हेर्ने दृष्टिकोण पनि फरक थियो । अझै आर्थिक सहयोग गर्ने कुरा त कमै थियो । तर पनि अपेक्षा हुने रहेछ । राज्यलाई दिएको योगदान र नेपालकै नाम राख्ने कुरामा गरेको साहसको पनि कदर नहुने रहेछ । 

Bam_-Sagarmatha_Rukum_Raju-(3)-1716285821.jpg
सरकारी निकाय देखिहालसम्म ब्यक्तिगत रुपमा पनि सहयोग प्राप्त हुन सकेन । देश भित्र तथा बाहिर रहनुहुने थुप्रै साथीभाई तथा कर्मचारी सहकर्मीहरुले साहस, उत्साह र धैर्यताका लागि उल्लेख्य सहयोग गर्नुभएको छ । मेरो आफ्नै जिल्ला भित्रका र कार्यक्षेत्रका केहि स्थानीय तहले अबका दिनमा आर्थिक सहयोग गर्ने वचन दिएका छन् ।

साउन वा भदौ तिर युरोपको सर्वोच्च शिखर एलबरुस आरोहणका लागि जाने तयारी गरेको छु । अरू बाँकी सबै सात महादेशका सर्वोच्च शिखर चुम्नलाई दुई वर्ष भित्र सक्ने योजनामा रहेको छ । किनभने खर्चका हिसाबले नि महँगो रहेको, भिषा प्रकृया गाह्रो भएको र निजामती सेवामा रहेको हँदा समय व्यवस्थापन कठिन भएकाले त्यसलाई अझै सहज बनाउने प्रयत्न गर्नेछु । 

मेरा हरेक सफलतालाई आफ्ना सफलता सम्झेर रमाउने जन्म दिने बाबाआमा प्रति सधै ऋणी छु । विभिन्न कार्यालयमा रहँदा मलाई मेरा विभिन्न संचित बिदाहरूबाट बिदा उपलब्ध गराई हिमाल आरोहणमा सहयोग गर्नुहुने विभिन्न कार्यालय प्रमुख प्रति विशेष आभारी छु । विशेष धन्यवाद दिन चाहन्छु ।

- (सगरमाथा आरोहणबाट फर्केपछि)

 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्