Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भेरी करिडोर अन्तर्गत तत्लुबगरको बेलिब्रिज औपचारिक रुपमा उद्घाटन

बुधबार, जेठ ९, २०८१
tribeni2

भेरी करिडोर अन्तर्गत रुकुम पश्चिमको आठबीसकोट नगरपालिका –४ छरेबगर र जाजरकोटको नलगाड नगरपालिका –१२ जोड्ने भेरीनदी माथि बनेको तल्लुबगरको ‘बेलिब्रिज’ औपचारिक रुपमा उद्घाटन भएको छ । 

बुधबार पूर्व अर्थमन्त्री एवम् प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले रिबन काटेर ‘बेलिब्रिज’ को उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा पूर्वमन्त्री शर्माले यो सडकलाई रुकुम पश्चिम, जाजरकोट र डोल्पाको लाईफलाईनका रुपमा लिईएको बताउभयो । उहाँले यो करिडोरले भारतको रुपैडियादेखि नेपालगञ्ज हुँदै चीनको सीमाक्षेत्र मोरिम्ला नाका जोड्ने भएकाले यस सडकलाई राष्ट्रिय महत्वको सडकको रुपमा समेत लिईएको उल्लेख गर्नुभयो ।

यस क्षेत्रका जनताले सडकको सहज सुविधामा जोडिदै गएको र अब स्थानीय रुपमा उत्पादनहरुलाई निर्यात गरेर आर्थिक मुनाफा लिन सकिने उहाँको भनाई छ । 

हालै सम्पन्न भएको उक्त बेलिब्रिजको गत शुक्रबार भेरी करिडोर कार्यालयको प्राविधिक टोलीले भारवाहन क्षमता परीक्षण गर्दा सफल भएको थियो । त्यसपछि शनिबारबाट बेलिब्रिज सञ्चालनमा आएको थियो । बेलिब्रिजले २५ टनसम्म भार थेग्नसक्ने बताईन्छ । 

भेरी करिडोरलाई त्रिदेशीय व्यापारिक सडकको प्रमुख पूर्वाधारका रुपमा लिईन्छ । भेरी करिडोर कार्यालय जाजरकोटका प्रमुख सुनिल रञ्जितकारले भारत–नेपाल हुँदै चीन जोड्ने भेरी करिडोर अन्तर्गत तल्लुबगर बेलिब्रिज सञ्चालनमा आएसँगै अब डोल्पा जिल्ला सिधा सडक सञ्जाल जोडिएको बताउनुभयो । 

तीन वर्षअघि सडक डिभिजन कार्यालय चौरजहारीले उक्त बेलिब्रिज निर्माणका लागि ठेक्का खुलाएको थियो । काम सुरु भएको तीन वर्षपछि बेलिब्रिज सञ्चालनमा आएको हो । २०७८ पुसमा हिम सगरमाथा खड्का कृष्ण जेभीले तीन करोड ८१ लाख रुपियाँमा ‘बेलिब्रिज’ निर्माणको ठेक्का पाएको थियो । विविध कारणले ‘बेलिब्रिज’ निर्माणमा ढिलासुस्ती भए पनि अहिले निर्माण सम्पन्न भइ सञ्चालनमा आएको हो । 

गत वर्षको बैशाख ७ गते यहि बेलिब्रिज निर्माणको क्रममा भाँचिएपछि दुई जना कामदारको मृत्यु भएको थियो भने सात जना घाईते हुनुभएको थियो ।

करिडोरअन्तर्गत तल्लुबगर, नलगाड र खदाङमा पक्की पुल निर्माण सुरु भएको बताईएको छ । अन्य खोलाहरुमा ह्युमपाइप राखेर डोल्पासम्म सिधा यातायात सञ्चालन गरिने तयारी भईरहेको छ । 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  २२:२२
प्रतिक्रिया दिनुहोस्