सोसल मिडिया
रुकुम पश्चिमको चौरजहारी नगरपालिका -१२ स्थित जनकल्याण माध्यमिक विद्यालय सानाखोलाको ६० औ बार्षिकोत्सव सम्पन्न भएको छ ।
बार्षिक उत्सवको अवसरमा विद्यालयमा २० वटा कम्प्युटरसहितको सुविधा सम्पन्न सूचना सञ्चार प्रविधि (आईसिटी) ल्याब र विज्ञान प्रयोगशाला उद्घाटन गरिएको छ । नगर प्रमुख पुष्प वादीले एक कार्यक्रमका बिच ल्याव र प्रयोगशालाको उद्घाटन गर्नुभएको हो ।
चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेर प्रसाद ढकालले १७ लाख बराबरको आईसिटी ल्याब र ६ लाख ५० हजार रुपियाँमा विज्ञान प्रयोगशाला स्थापना गरिएको बताउनुभयो । उहाँका अनुसार ल्याब र प्रयोगशाला सिकाइमा प्रविधिको उपयाेग गर्ने र ज्ञान, सीप विकासका लागि महत्वपूर्ण रहेका छन् ।
आइसिटी ल्याब स्थापनामा चौरजहारी नगरपालिका र KISK EQUIP को साझेदारी रहेको छ भने विज्ञान प्रयोगशाला चौरजहारी नगरपालिकाको आर्थिक सहयोगमा स्थापना गरिएको हो ।
जनकल्याण माविका प्रधानाध्यापक झुपलाल शर्माले ल्याव र प्रयोगशाला स्थापनाले विद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा महत्वपूर्ण सहयोग हुने बताउनुभयो । बार्षिकोत्सवको अवसरमा अन्य बिभिन्न कार्यक्रमहरु समेत आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।
कक्षा १० सम्म सञ्चालित यस विद्यालयमा तीन सय जना बिद्यार्थीहरु अध्ययनरत रहेका छन् ।