Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

निर्माणाधिन नहर भत्काएर सडक, ३० हेक्टर खेतियोग्य जमिन बाँझै रहने चिन्ता

६५ लाखको नहरमा क्षति, थप ६५ लाखमा सडक बनाईदै
शुक्रबार, जेठ ११, २०८१
tribeni2

रुकुम पश्चिममा निर्माणाधिन एक सिंचाई आयोजनाको नहर भत्काएर सडक बनाउन थालिएको छ । जिल्लाको मुसीकोट नगरपालिका –१ देखि वडा नम्बर –२ सम्म रहेको घट्टखोला खालीगैरा सिंचाई आयोजनाको नहर भत्काएर सडक बनाउन थालिएको हो । 

आर्थिक वर्ष ०७६/७७ देखि निर्माण सुरु भएको उक्त आयोजनाको काम सकिने बेलामा मूहानतिरबाटै भत्काउन थालिएपछि किसानहरु चिन्तित बनेका छन् । कृषि विकास कार्यालयका निमित्त प्रमुख मिनबहादुर केसीले नहरको ९५ प्रतिशत काम सकिएको तर पुरा नहुँदै नहर भत्काएर सडक बनाउन थालिएको जानकारी दिनुभयो । यस कार्यले वडा नम्वर –२ को क्षेत्रमा रहेको करिब ३० हेक्टर खेतियोग्य जमिन बाँझै हुने उहाँको भनाई छ । क्रमागत योजना अन्तर्गतको उक्त आयोजनाको नहर बनाउन हालसम्म ६५ लाख रकम खर्च भईसकेको छ । 

२०३२ सालदेखि सिंचाई कुलो बनाएर यो स्थानका खेतियोग्य जमिन सिंचित हुँदै आएका थिए । पछिल्लो समय नहर व्यवस्थित भएर सिँचाई हुन थालेपटि किसानहरु खुशि भएका थिए । नहर बनेको केहि समयमै भत्काउन थािलएपछि किसानहरु चिन्तित छन्  । स्थानीय किसान दिवसा ओली खड्काले बल्लतल्ल बनेका नहर अबरुद्ध भएको बताउनुभयो । नहर नरहेपछि खेतीयोग्य जमिन बाँझै रहने पीर उहाँलाई छ । नहर नभत्काईदिन स्थानीय सरकार समक्ष किसानहरु गएर माग गर्दापनि कुनै सुनुवाई नभएको उहाँले गुनासो गर्नुभयो । 

अर्का किसान सीता अधिकारीले गहुँ, धान, मकै, तरकारी खेती हुने जमिनको नहर बन्द भएको भन्दै दुःखेसो पोख्नुभयो । उहाँले किसानका कुरा सुनिदिने निकाय नै नभएको अनुभूति सुनाउनुभयो । ‘अब हामी के गर्ने ? के खाने ?’ उहाँले प्रश्न गर्नुभयो, ‘भर्खरै बनेको नगर भत्काउने भए सरकारले लाखौ रकम किन खर्च गरको होला ?’ यस कार्यले यहाँका किसानलाई ठुलो मर्का परेको उहाँको भनाई छ ।

दुईतिरबाट नहर भत्काउन, सडक बनाउन सुरु

अहिले उक्त स्थानमा दुईतर्फबाट डोजर लगाएर सडक बनाउन थालिएको छ । नहरको करिब छ सय मिटर मुख्य भूभाग सडकमा परेको छ । ‘पातुखोला–घट्टखोला–खालीगैरा–वडा नम्वर २– पशुपति मावि’ नामको उक्त सडकमा दुई विकासे कार्यालयले ठेक्का दिएर काम सुरु गरेका छन् । 

पुर्व तर्फ खोलाको मुहान क्षेत्रमा संघीय आयोजना कार्यान्वय इकाई सुर्खेत र पश्चिमतर्फ रहेको गाउँतर्फको भागबाट पूर्वाधार विकास कार्यालय चौरजहारीबाट ठेक्का सम्झौता गरेर काम सुरु भएको छ । संघीय कार्यालयसँग ४२ लाखमा ठेक्का सम्झौता गरेर डिग्रे साईकुमारी कन्ट्रक्सन प्रा.लि.ले काम सुरु गरेको छ भने पूर्वाधार विकास कार्यालयसँग सल्यानी निर्माण सेवाले २३ लाखमा ठेक्का सम्झौता गरेर काम सुरु गरेका छन् । 

कडा चट्टानका बिचमा सडक बनाउनुपर्ने भएकोले काम सकिन केहि वर्ष लाग्ने बताईन्छ । डिग्रे साईकुमारी कन्ट्रक्सन प्रा.लि.ले जिम्मा पाएको सडकको ठेक्कामा नाली निर्माणको काम समेत रहेतापनि सल्यानी निर्माण सेवाले गरिरहेको काममा नालिको स्टिमेट छैन । यसले नहरबाट सिचाईं सुविधा उपभोग गरिरहेका किसानहरुलाई मार पर्ने बताईन्छ । 

कृषि कार्यालयको पत्रको वेवास्ता

उक्त सडक निर्माणको लागि आर्थिक वर्ष ०८०/८१ मा टेण्डर आह्वान भएको थियो । सोहि समयमा मिति २०८० माघ ३ गते दुबै कार्यालयलाई कृषि विकास कार्यालयको तर्फबाट नहर क्षेत्रमा असर नगर्न तथा सिंचाई अबरुद्ध नगर्न पत्राचार गरिएको थियो । तर दुबै कार्यालयले एकपटक पनि समन्वय नगरेर बलमिच्याँईपूर्वक नहर भत्काएको कृषि विकास कार्यालयको भनाई छ । दुई मिनेट नजिकै अर्को सडक हुँदाहुँदै सिंचाई नहर भत्काएर सडक बनाउनु कृषि क्षेत्रमाथी अन्याय गरिएको कार्यालयको बुझाई रहेको छ । 

गत वैशाख ३१ गतेपनि कार्यालयले प्रदेश कृषि मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, मुसीकोट नगरपालिका, जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएर भर्खरै बनेको नहर क्षति पुग्ने काम भएकोले समन्वय गरिदिन अनुरोध गरेको छ । तर, नहर भत्काएर सडक बनाउने काम भने धमाधम भईरहेको छ । एक सरकारी कार्यालयले अर्को सरकारी कार्यालयलाई पत्राचार गर्दागर्दै पनि कार्यालयको पत्रको वेवास्ता भएको कृषि कार्यालयको भनाई रहेको छ । 

स्थानीयकै मागको आधारमा सडक सिफारिस

यस बिषयमा मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीले स्थानीयकै माग र र आवश्यकताको आधारमा योजना सिफारिस भएर कार्यान्वयन हुन थालेको बताउनुभयो । किसानहरुलाई सिंचाई अबरुद्ध नहोस् भनेर चाँडै नै काम सम्पन्न गर्न समन्वय गरिरहेको उहाँको भनाई छ ।

पूर्वाधार कार्यालयबाट बन्ने सडक तर्फको नाला पुरिएकोले सडक निर्माण हुने बित्तिकै नगरपालिकाले नहर सुचारु गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । स्थानीयवासीसँगैको बैठकको सहमतिबाट सडक निर्माण हुन थालेको उहाँले प्रष्ट पार्नुभयो । 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  ०८:३७
प्रतिक्रिया दिनुहोस्