सरकारको बजेटमा कर्णाली : रुकुम र जाजरकोटमा पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड बिनियोजन

मंगलबार, जेठ १५, २०८१

काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदमा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट संसदमा पेस गरेका हुन् ।

आगामी आर्थिक वर्षका लागि चालुतर्फ ११ खर्ब ४० खर्ब ६६ करोड विनियोजन गरिएको छ । यस्तै, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन गरिएको छ । यस्तै, वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब ८ अर्ब २७ करोड विनियोजन गरिएको छ । सरकारले खर्च बजेटमा राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड उठाउने लक्ष्य लिएको छ । यस्तै, अपुग हुने बजेटका लागि वैदेशिक अनुदानमार्फत ५२ अर्ब ३३ करोड लिने र वैदेशिक ऋण २ खर्ब १७ अर्ब ६७ करोड लिने लक्ष्य छ । यस्तै, थप अपुग ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋणबाट लिने लक्ष्य छ । 

अगामी वर्षको बजेटमा संघीय सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मानव विकास सूचकाङ्कमा पछि परेको कर्णाली प्रदेशलाई प्राथमिकतामा राखिएको बताए पनि अर्थमन्त्री पुनले संसदमा पेस गरेको बजेटमा भने नयाँ रुपान्तरणकारी योजना खासै समेटिएनन् । संघीय सरकारको आगामी वर्षको बजेटमा विगतका वर्षमा निरन्तर समेटिने तर निर्माणको प्रारम्भिक चरणमै प्रवेश नगरेका आयोजनाहरू पुनः प्राथमिकतामा परेका छन् । 

संघीय सरकारले कर्णालीको ऊर्जा विकासका लागि चार सय १७ मेगावटको नलसिङगाड जलविद्युत् आयोजना, दुई सय ८० मेगावाटको नौमुले बहुउद्देश्यीय जलविद्युत आयोजना निर्माणको काम आगामी आर्थिक वर्षबाट सुरु गरिने बताएकाे छ । यस्तै, डोल्पाको एक सय ६ मेगावटको अर्धजलाशययुक्त जगदुल्ला हाइवड्रोपावर पनि आगामी आर्थिक वर्षबाट अगाडि बढाइने अर्थमन्त्री पुनले बताए ।

नेपालकै सबैभन्दा धेरै परिमाणमा विद्युत उत्पादनको सम्भावना बोकेको १० हजार आठ सय मेगावाटको कर्णाली चिसापानी जलविद्युत् आयोजनाको विस्तृत इन्जिनियररिङ अध्ययन गरिने महत्त्वाकांक्षी योजना संघीय सरकारकाले आगामी आर्थिक वर्षबाट अगाडि बढाउने भएको छ । 

यस्तै, चार सय केभी क्षमताको कर्णाली कोरिडोर प्रशारण लाइन निर्माणको कामलाई तीव्रता दिँदै भेरी कोरिडोर चार सय क्षमताको प्रसारण लाइन निर्माणको प्रारम्भ आगामी आर्थिक वर्षबाट सुरु गरिने अर्थमन्त्री पुनले बताए । लामो समयदेखि विस्तारको योजनामा स्वार्थ बाझिँदै आएको सुर्खेत विमानस्थलको विषय पनि आगामी बजेटमा समावेश भएको छ ।

संघीयतापछि ओझेलमा परेको सुर्खेत विमानस्थल विस्तारको योजना आगामी नीति, कार्यक्रम तथा बजेटमा समावेश भएको छ । अर्थमन्त्री पुनले सुर्खेत र जुम्ला विमानस्थल विस्तार आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताए ।   यस्तै, कर्णालीमा कृषि र वनमा आधारित समृद्ध कर्णाली उद्यमशीलता कार्यक्रम संघीय सरकारले अगाडि बढाएको छ ।

कर्णालीका १० वटै जिल्लामा सञ्चालन हुने गरी एकीकृत कर्णाली सिँचाइ विकास कार्यक्रमका लागि ८२ करोड बजेट विनियोजन भएको छ । जुम्लाको तिला र हिमा नदी आसपासका क्षेत्रलाई मार्सी कोरिडोर स्थापना गर्ने योजना संघीय सरकारले अगाडि सारेको छ । 

कर्णालीलाई दक्षिण भारतदेखि उत्तरको चीन जोड्ने अन्तरदेशीय रणनीतिक महत्त्वका सडक आयोजना कर्णाली र भेरी कोरिडोर सडक आयोजना स्तरोन्नतिको कामलाई तीव्रता दिने संघीय सरकारको पुरानै योजना दोहोरिएको छ, जसमा कर्णाली कोरिडोरमा पाँचवटा पक्की पुल र ५० किलोमिटर सडक स्तरोन्नतिको काम आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ । यस्तै, कोहलपुर–सुर्खेत रत्नराजर्माग, कर्णाली राजमार्ग स्तरोन्नतिको योजना संघीय सरकारले पुनः अगाडि बढाउने योजना अगाडि सारेको छ । 

राष्ट्रिय गौरवको परियोजना भेरी–बबई बहुउद्देश्यीय अयोजनाको हेडवक्स र विद्युतगृह निर्माणका लागि दुई अर्ब बजेट विनियोजन भएको छ । यस्तै स्वास्थ्यतर्फ सुर्खेतमा मेडिकल कलेज स्थापनाको पुरानै योजना अगाडि सारिएको छ भने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरोन्नति गरी पाँच सय शय्या पुर्‍याइने योजना संघीय सरकारको छ ।

सरकारले सुर्खेतको भेरीगंगालाई पहाडको आधुनिक शहर बनाउन गुरुयोजना तर्जुमा गर्ने पुरानै योजना अडाडि बढाएको छ । आगामी २०८१ मंसिरमा सुर्खेतमा आयोजना हुन लागेको १० राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि ६० करोड बजेट विनियोजन भएको छ । यस्तै, १० औँ खेलकुदलाई लक्षित गरी कर्णालीमा खेलकुद पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइने अर्थमन्त्री पुनले बताए । 

भूकम्प पुनर्निर्माणमा २१ अर्ब

संघीय सरकारले गत १७ कात्तिकमा जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले पुर्‍याएको क्षतिको पुनर्निर्माण तथा नागरिकको पुनर्स्थापनालाई प्रमुख प्राथमिकतामा राखेको छ । एक सय ५४ जनाको ज्यान लिने गरी गएको विनाशकारी भूकम्पबाट पुगेको क्षतिको सर्वेक्षण गरी सुरक्षित भौतिक पूर्वाधार पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पुनले बताए । उक्त बजेटबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा स्थायी आवास निर्माणको काम गरिने उनले बताए । 

भूकम्प गएको ६ महिना बित्न लाग्दासमेत प्रभावित क्षेत्रका सबै नागरिकले अझै पनि अस्थायी आवास निर्माणबापतको दोस्रो किस्ताको रकमसमेत पाउन नसकेको अवस्था छ । पुनर्निर्माण प्रकियाका लागि संघीय सरकारको विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थानीय तहलाई कार्यविधि उपलब्ध नगराउँदा थप समस्या देखा परेको छ । जसले गर्दा नागरिक अस्थायी आवासमा कष्टपूर्ण जीवनयापन गर्न बाध्य भइरहेका छन् । 

बर्सेनि बजेटमा समेटिन्छन् तर, बन्दैनन् यी आयोजना 

चालु आर्थिक वर्षको संघीय सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मानव विकास सूचकाङ्कमा पछि परेको कर्णाली प्रदेशलाई प्राथमिकतामा राखिएको बताएका थिए । सोहीअनुसार चालु आर्थिक वर्षको बजेटमा कर्णालीको पूर्वाधार विकास र स्वास्थ्य पूर्वाधार प्राथमिकतामा परेको जनाइएको छ । तर, कर्णालीका केही महत्वपूर्ण आयोजनाहरू बर्सेनि नीति, कार्यक्रम तथा बजेटमा समावेश भए पनि कार्यान्वयनको प्रारम्भिक चरणमै प्रवेश गर्न सकेका छैनन् । 

जसकाे उदाहरण  सुर्खेतमा मेडिकल कलेज स्थापना, सुर्खेतमै बन्न लागेको प्रादेशिक सरुवा अस्पताल चालु आर्थिक वर्ष निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने योजना संघ सरकारले अगाडि सारेको थियो । तर, यी आयोजनाहरूले हालसम्म प्रगति हासिल गर्न सकेका छैनन् ।

यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत दैलेखको आठबिस नगरपालिकामा एक सय शय्याको स्याटेलाइट अस्पतालको निर्माण पक्रिया अझै सुरु हुन सकेको छैन । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको स्तरोन्नति गरिने संघीय सरकारको योजना पनि अलपत्र छ । चालु आर्थिक वर्षमा रुकुम पश्चिमको चौरजहारी र जुम्ला विमानस्थलको स्तरोन्नति गरिने योजना अगाडि सारिएको भए पनि काम भने सुरु हुन सकेको छैन । 

यस्तै, बाढीपहिरोबाट क्षति भएको कर्णाली राजमार्ग स्तरोन्नति तथा कोहलपुर–सुर्खेत सडक खण्ड स्तरोन्नतिमा बजेटको सुनिश्चितता भएको दाबी गरिएको भए पनि हालसम्म यी आयोजना अगाडि बढ्ने छाँट देखिएको छैन । प्रदेश राजधानी सुर्खेत उपत्यकामा पानी ल्याउन भेरी लिफ्ट खानेपानी आयोजना अगाडि बढाइएको लामो समयसम्म पनि फिल्डस्तरको काम अझै अगाडि बढेको छैन ।

आर्थिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक तथा पर्यटकीय सम्भावना बोकेका जुम्लाको चन्दननाथ, दैलेखको पञ्चकोशी र सल्यानको छत्रेश्वरी भगवती माईको विकास गरिने योजना पनि अलपत्र अवस्थामै छन् ।  रुकुम, जाजरकोट र डोल्पा जोड्ने पर्यटकीय मार्गको स्थापनाका लागि बजेट सुनिश्चित भएको बताइए पनि निर्माणको प्रक्रिया चालु आर्थिक वर्षको अन्तिमसम्म पनि सुरु हुन सकेको छैन । 

यस्तै, कृषितर्फ जुम्लामा उत्पादित मार्सी र सल्यानमा उत्पादित अदुवालाई ब्रान्डिङ गरिनेछ भने पनि कर्णालीमा उत्पादन हुने नौ प्रकारका रैथाने खाद्य बाली उत्पादनमा जोड दिई खाद्य व्यापार कम्पनीबाट खरिदको व्यवस्था मिलाइने व्यवस्था पनि गफमै सीमित भएको छ । 

सुर्खेतमा विषादी परीक्षण केन्द्र स्थापना, कर्णालीमा उत्पादन हुने जडीबुटी प्रशोधन तथा उत्पादन बढाउन वृक्षरोपणलगायतका कार्यक्रम, कर्णालीका विभिन्न नदी किनारमा रहेका कृषियोग्य जमिनमा सिँचाइ पुर्‍याउनका लागि एकीकृत कर्णाली सिँचाइ विकास कार्यक्रममार्फत डिप बोरिङ निर्माण गर्ने योजना संघीय सरकारको बजेटमा बर्सेनि समेटिए पनि प्रगति भने शून्यप्राय: छ ।

ऊर्जा क्षेत्रमा डोल्पाको जगदुल्ला हाइड्रोपावर निर्माण, ४०० केभीए कर्णाली र भेरी कोरिडोर प्रसारण लाइन, सुर्खेतमा रहेको मौसमी राडारलाई पूर्ण रूपमा सञ्चालन गर्ने योजना संघीय सरकारको बजेटमा निरन्तर समावेश हुँदै आएको भए पनि अधिकांश योजना कार्यान्वयनको प्रारम्भिक चरणमै प्रवेश गर्न नसकेको अवस्था छ । यी आयोजनाहरू संघीय सरकार र प्रदेश सरकारले समयमै अगाडि बढाउन चासो दिन सकेका छैनन् । 

- शिलापत्रबाट

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १८:२७
प्रतिक्रिया दिनुहोस्