निर्माणाधीन सडकको ढुङ्गाले लागेर घटनास्थलमै एक महिलाको मृत्यु

शुक्रबार, जेठ १८, २०८१

रुकुम पश्चिममा निर्माणाधीन सडकको ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सानीभेरी गाउँपालिका -१० निवासी अन्दाजी ५२ वर्षिया नौली बिकको मृत्यु भएको हो । 

शुक्रबार चौरजहारी नगरपालिका –१३ स्थित आफन्तको घरबाट फर्कने क्रममा घर नजिकै पुगेको बेला माथिल्लो सडकबाट आएको ढुङ्गा लागेर घटनास्थलमै उहाँको मृत्यु भएको वडा अध्यक्ष टिकाराम खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार घरभन्दा आधा घण्टा परको पाखा भन्ने स्थानमा पुगेको बेला ढुङ्गाले लागेर उहाँको मृत्यु भएको हो । घडेरी–घण्ठाना–तिमीले–चिन्तु कृषि सडक स्तरोन्नतीको लागि उक्त स्थानमा डोजरले बाटो खनिरहेको छ । करिब १५० मिटर तलको बाटो हिडिरहेको बेला निर्माणाधिन सोहि सडकबाट आएको ढुङ्गा लागेर उहाँको मृत्यु भएको हो ।

एकल महिला रहेकी मृतक बिकका एक छोरा र दुई छोरी हुनुहन्छ । 

अहिले घटनास्थलमा सिम्ली प्रहरी चौकीबाट प्रहरी टोली पुगेको छ । यस अघि पनि सोहि सडक निर्माणको क्रममा एक बालकको मृत्यु भएको थियो । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  २१:२४
प्रतिक्रिया दिनुहोस्