चौरजहारी बजारको फोहोर व्यवस्थापन सुरु

शनिबार, जेठ १९, २०८१

रुकुम पश्चिमको चौरजहारी बजार क्षेत्रको फोहोर व्यवस्थापन गर्न थालिएको छ । 

चौरजहारी नगरपालिकाको नियमित सरसफाइ कार्यक्रम अन्तर्गत शुक्रबारबाट मुख्य बजार क्षेत्रको फोहोर व्यवस्थापन गर्न थालिएको हो । 

नगरपालिकाका प्रवक्ता खुमबहादुर खड्काका अनुसार बजार क्षेत्रमा हुने प्लास्टिक, सिसा तथा अन्य पदार्थका कारण उत्पन्न फोहोर व्यवस्थापन गर्न नियमित सरसफाइ सुरु गरिएको हो । बसपार्क र मुख्य बजार क्षेत्रको फोहोर संकलन गरेर व्यवस्थापन गरिएको उहाँले जनाउनुभयो । 

फोहोर व्यवस्थापन स्थानको अभावको कारण लामो समयदेखि बजार क्षेत्रको फोहोर उठ्न सकिरहेको थिएन । सरसफाइ सिकाइ  केन्द्रका रुपमा फोहर व्यवस्थापन गर्न वडा नम्वर ३ मा सुविधासम्पन्न पूर्वाधार निर्माणको काम भइरहेको र वडा नम्वर १ मा आधारभूत संरचना बनाएर सरसफाइ सुरु गरिएको नगर प्रमुख पुष्प वादीले बताउनुभयो । चौरजहारीमा सरसफाइ  सिकाइ केन्द्रको परिकल्पनासहित फोहोर स्थानान्तरण र व्यवस्थापन गरिएको यो पहिलो पटक हो । 

फोहर व्यवस्थापन कार्यमा नगर प्रमुख पुष्प वादी ,विभिन्न वडाका वडा अध्यक्षहरु तथा सदस्यहरु ,निमित्त प्रमुख प्रशासकीय अधिकृत  शेर प्रसाद ढकाल, स्थानीयवासीहरु, व्यापारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  ०६:१४
प्रतिक्रिया दिनुहोस्