जातीय छुवाछुत विरुद्ध समग्र मानव एक हुन आवश्यक

सोमबार, जेठ २१, २०८१

रुकुम पश्चिमका दलित अगुवाहरुले छुवाछुत कागजी रुपमा हटेतापनि सोच र व्यवहारबाट हट्न नसकेको बताएका छन् । उनीहरुले जातीय छुवाछुत बिरुद्ध सबैजना एक हुनुपर्ने जनाएका छन् । 

जातीय भेदभाव तथा छुवाछुत उल्मुलन राष्ट्रिय दिवसको अवसरमा मुसीकोटमा भएको छलफल कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर बिकले पुरानो सोच र चिन्तनका कारण दलितहरुले अपमान भोग्नुपरेको बताउनुभयो । उहाँले फुटाउ र राज गर भन्ने चिन्तनबाट ग्रसितहरुले चलाएको प्रथाको सिकार २१ औ शताब्दिका मानवहरु हुनुपरेको उल्लेख गर्नुभयो ।

जातीय विभेद अहिले पनि कायम रहेको बताउनुहुँदै उहाँले छुवाछुत बिरुद्ध समग्र मानव एक भएर उल्मुलन गर्न आवश्यक रहेको जनाउनुभयो । कार्यक्रममा उपप्रमुख बिकले दलितभित्र पनि कामी, सार्की, दमाई, गाईने जातीहरु बिचमा विभेद हुने गरेको, जातकै कारण शहरमा भाडामा कोठा पाउन नसकेको प्रसङग उल्लेख गर्नुभयो । 

jatiya-xuwatut-biruddha_Rukum_Raju-(2)-1717396900.jpg
संयुक्त दलित अधिकार मञ्चका अध्यक्ष यज्ञ परियारले कतै न कतै आफूहरु पनि विभेदको सिकार हुनुपरेको बताउनुभयो । आचरणमा सुधार र कानूनको प्रभावकारी कार्यान्वयन भएमा यसको निराकरण गर्न सकिने उहाँको भनाई रहेको छ ।

आठविसकोट नगरपालिका –१४ पिपलचौरका धर्मे कामीले मसानघाटमा समेत दलित र गैर दलित भनेर घाट फरक गर्ने गरेको बताउनुभयो । ‘हामीले बिद्रोह गरेर घाट नै अलग स्थानमा बनाउने कुरा हटाउँदै छौ,’ कामीले गुनासो गर्नुभयो, ‘घर हामी बनाउँछौ, भित्र छिर्न दिदैनन्, दलितको बजेट आउँछ, गैर दलितले नै चलाउँछन् ।’

कार्यक्रममा मुसीकोट नगरपालिका –१ का देविदास दमाईले बजारमा भन्दा गाउँमा छुवाछुत बढी रहेको उल्लेख गर्नुभयो । सिलाई व्यवसायी संघका जिल्ला अध्यक्ष समेत रहनुभएका दमाईले सिलाई मेसिन बोकेर घरघरै जानुपर्ने र टाढैबाट सारिदिएको खाना खानुपर्ने अवस्था रहेको सुनाउनुभयो । उहाँले राजनीतिक दलहरुमा समेत जात हेरेर पद र उमेरको सम्मान गर्ने गरिएको बताउनुभयो । 

दलित साझा अभियानका सदस्य बसन्ती नेपालीले दलितहरुले अझैपनि अधिकार पाउँन नसकेकोले सबै एकजुट भएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो । भाषणमा मात्र छुवाछुत अन्त्यको कुरा जोडदार रुपमा उठाउने तर सोच र व्यवहारमा परिवर्तन हुन नसकेको उहाँको बुझाई छ ।

दलित संघका उपाध्यक्ष बसन्त नेपालीले जात हेरेर विवाह गर्ने, दलितहरुलाई होच्याउने, मिच्ने, लक्षित वर्गको वजेटमा गैर दलित हाबी हुने गरेको बताउनुभयो । कार्यक्रममा ओरेक नेपालका कमला खड्काले सोच, विचार, धारणा र व्यवहार बदलिएमा छुवाछुत तथा विभेद हट्ने बताउनुभयो । नेपाल ख्रिष्टियन राहत सेवाका झरना खड्काले विभेद र छुवाछुत बिरुद्धको कार्य हरेकले आफैबाट सुरु गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा जेष्ठ नागरिक केन्द्रमा कार्यरत सरस्वती कार्कीले बाल विवाह, जबरजस्ती करणी लगायतका घटनामा जात जोडेर उचाल्ने गरिएको बताउनुभयो । ‘गैर दलितहरुले गुपचुप राख्ने र दलितहरुमा यस्तो भएमा कुरा उठाउने गरिएको पाईन्छ,’ कार्कीले भन्नुभयो, ‘कानूनको नजरमा सबै बराबर हुन्छ, आफू माथि विभेद भएमा सहेर बस्न हुँदैन, प्रहरी प्रशासन तपाईहरुको साथमा रहन्छ ।’

रुकुम पश्चिममा जातीय छुवाछुत भन्दा पनि बाल विवाहको समस्या बढी रहेको उहाँले बताउनुभयो । विभेद सहनु हुँदैन र कानूनले पनि सह्य हुदैन भन्ने कुरा आम नागरिकमा जानकारी गराउन आवश्यक रहेको उहाँको भनाई छ । 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १२:२९
प्रतिक्रिया दिनुहोस्