Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
विद्यालयमा पूर्वाधार अभाव

सिढिमूनि शिशु कक्षा, तीन वटा कक्षा एउटै कोठामा

न खानेपानी न त शौचालय सुविधा
मंगलबार, जेठ २२, २०८१
tribeni2

रुकुम पश्चिमको आठविसकोट नगरपालिका –५ मा रहेको मष्टकैलाश आधारभूत विद्यालयमा सञ्चालित शिशु कक्षाका बालबालिकाहरु सिढिमूनिको कोलियामा बसेर पढ्छन् भने कक्षा १, २ र ३ का बालबालिकाहरुको पढाई एउटै कोठामा हुन्छ । शिशु कक्षादेखि कक्षा तीनसम्म पढाई हुने यस विद्यालयमा दुई कोठे एउटा मात्र भवन छ । 

आठविसकोट नगरपालिका –४ को इन्द्रज्योती आधारभूत विद्यालयमा पनि कक्षा १ र २ को लागि एउटै कक्षाकोठा रहेको छ । दुई वटा कक्षाका बालबालिकाहरुलाई एउटै कोठामा राखेर पठनपाठन भईरहेको छ । बालमैत्री तथा गुणस्तरिय शिक्षण सिकाइको चर्चा भईरहेपनि एउटै कोठामा फरक फरक कक्षाका बिद्यार्थीहरु खाँदिएर पढाउनुपर्ने बाध्यता एकातिर रहेको छ भने अर्कोतर्फ शौचालय र खानेपानीको समेत सुविधा छैन ।

school1-1717460928.pngमष्टकैलाश आविका प्रधानाध्यापक धनप्रसाद शर्माले दुई कोठे विद्यालय भवनमा चार वटा कक्षा र एउटा कार्यालय सञ्चालन गरिरहेको बताउनुभयो । एउटा कोठामा विद्यालयको कार्यालय राखिएको छ भने अर्को कोठामा कक्षा १, २ र ३ का बिद्यार्थीहरु राख्ने गरिएको छ । शिशु कक्षाका साना बालबालिकाहरुलाई भने माथिल्लो तला जानलाई ठाउँ राखिएको सिढिमूनीको कोलियामा राखेर पढाउने गरिन्छ । 

बाल शिक्षासहित चार वटा कक्षाकोठा आवश्यक यस विद्यालयमा एउटा मात्र कोठाले पठनपाठन कार्य धानिरहेको छ । प्रधानाध्यापक शर्माले भन्नुभयो, ‘२०६५ सालतिर श्रमदान गरेर बनाएको कच्चि भवन भूकम्पले चिराचिरा बनायो, अहिले चार वटै कक्षाका बिद्यार्थी र अफिसलाई दुई कोठे भवनमा केन्द्रित गरेका छौ ।’ अहिले उक्त विद्यालयमा १०८ जना बालबालिका भर्ना भएका छन् । शिशु कक्षाका ३५ जनालाई सिढिमूनीको कोलियामा र अन्य तीन वटा कक्षाका ७० बढी बालबालिकालाई एउटै कोठामा राखेर पढाउने गरिन्छ ।

भूकम्पले चिराचिरा बनाएको भवनमा उच्च जोखिमका साथ कुनै बेला बिद्यार्थीहरु राखेर पठाउने गरिएतापनि हावालाग्दा र पानी पर्दा सबै बिद्यार्थीलाई पक्कि भवनको एउटा कोठामा अटाउने गरिएको प्रधानाध्यापक शर्माले उल्लेख गर्नुभयो । 

indrajyoti-aabi-1717460917.pngइन्द्रज्योती आविका प्रधानाध्यापक कल्पना बिएम बिष्टले कक्षा १ र २ का बालबालिकाहरु एउटै कोठामा राखेर पठाउने गरिएको बताउनुभयो । कक्षा १ का १७ जना र कक्षा २ का १८ जना बिद्यार्थीहरुलाई एउटै कोठामा लहरमा बसाएर पढाईन्छ । दुई कक्षाका लागि छुट्टाछुट्टै बोर्डको व्यवस्था गरिएतापनि पठनपाठन सहज नभएको उहाँको भनाई छ ।

प्रधानाध्यापक बिष्टका अनुसार दुई कक्षा एउटै कोठामा हुँदा हो हल्ला त हुन्छ नै, एउटा कक्षाको ध्यान अर्को कक्षातिर जान्छ अनि भनेजसरी पठाउने वातावरण हुँदैन ।

शौचालय र खानेपानीको अभाव

यी दुबै विद्यालयमा शौचालय, खानेपानी र घेराबारको समस्या रहेको छ । मष्टकैलाश आविका प्रधानाध्यापक शर्माले २०६५ सालमै बनाएको कच्चि शौचालय जीर्ण रहेको बताउनुभयो । चिराचिरा परेको एउटै शौचालयमा शिक्षक, छात्रा र छात्रहरुले प्रयोग गरिरहेको उहाँले जनाउनुभयो । त्यसैगरी विद्यालयमा खानेपानी सुविधा नहुँदा दुई किलोमिटर टाढाबाट बोकेर ल्याउनुपर्ने बाध्यता रहेको छ ।

इन्द्रज्योती आविमा समेत शौचालय र खानेपानीको सुविधा छैन । दुबै बिद्यालयमा घेराबार समेत छैनन् । विद्यालयका समस्या सबै निकायमा राखिसकेको तर वेवास्ता भएको विद्यालयको भनाई छ । 

mastakailas-aabi-1717460917.pngआठविसकोट नगरपालिकाका प्रमुख रबि केसीले जाजरकोट भूकम्पपछि अधिकांश विद्यालय भवनमा क्षती पुगेपछि समस्या भईरहेको बताउनुभयो । विगत देखि नै भौतिक पूर्वाधारको अभाव खेपिरहेका शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा भूकम्पले थप समस्या सिर्जना गरेको उहाँको भनाई छ ।

यस विषयमा सबै सरोकारवालाहरुसँग सहयोगका लागि अनुरोध गरिएको समेत नगर प्रमुख केसीले उल्लेख गर्नुभयो । स्थानीय सरकारको श्रोतले मात्रै तमाम् समस्याहरु समाधान गर्न नसक्ने अवस्था रहेको उहाँले प्रष्ट पार्नुभयो ।

भूकम्पपछि अस्थायी सिकाइ केन्द्र मार्फत नियमित पठनपाठनका लागि लाखौ खर्च गरेका विभिन्न दातृ निकायको समेत यी विद्यालयहरुमा ध्यान जान नसकेको विद्यालयको गुनासो रहेको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ०६:१६
प्रतिक्रिया दिनुहोस्