Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा अस्थायी आवास निर्माणको दोश्रो किस्ताको रकम निकाशा सुरु 

२१ करोड ६४ लाख ५० हजार रुपियाँ आठविसकोट र सानीभेरीमा पठाईयो
मंगलबार, जेठ २२, २०८१
tribeni2

रुकुम पश्चिममा भूकम्प प्रभावित घरपरिवारहरुको अस्थायी आवास निर्माण वापतको दोश्रो किस्ताको रकम निकाशा सुरु भएको छ । 

मंगलबारबाट जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका लाभग्राहीहरुको लागि दोश्रो किस्ताको रकम पठाउन सुरु गरेको हो । 

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले दुई स्थानीय तहका आठ हजार ६५८ जना लाभग्राहीको लागि दोश्रो किस्ता वापतको २१ करोड ६४ लाख ५० हजार रुपियाँ सम्बन्धित पालिकाको खातामा पठाईएको जानकारी दिनुभयो । उहाँका अनुसार आठविसकोट नगरपालिकाका तीन हजार १३ जना र सानीभेरी गाउँपालिकाका पाँच हजार ६४५ जना लाभग्राहीको लागि दोश्रो किस्ताको रकम निकाशा पठाईएको हो । 

उक्त रकम भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० र राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन अनुसार स्थानीय तहले वितरण गर्ने बताईएको छ । 

प्राधिकरणले तयार गरेको विपद् पोर्टलमा समावेश भएका र पालिकाबाट माग भएका आधारमा दोश्रो किस्ताको रकम निकाशा गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले जनाउनुभयो । भूकम्प प्रभावित घरपरिवारको अस्थायी आवास निर्माणको लागि पहिलो किस्तामा २५ हजार र दोश्रो किस्तामा २५ हजार दिने व्यवस्था रहेको छ । 

गत कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको कारण रुकुमपश्चिममा ३२ हजार ९९६ जना लाभग्राही कायम भएका छन् भने ३१ हजार ८५ जनाको अस्थायी आवास निर्माणको लागि पहिलो किस्ताको रकम निकाशा भईसकेको छ ।

प्रभावित केहि घरपरिवारले भने पहिलो किस्ता वापतको रकम पाएका छैनन् । थप रकमको लागि जिल्ला प्रशासन कार्यालयले माग गरेको जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  २०:१४
प्रतिक्रिया दिनुहोस्