सोसल मिडिया
रुकुम पश्चिमको आठविसकोटमा बृद्धाश्रम निर्माण गरिएको छ । आठविसकोट नगरपालिका –११ को चौरमा ‘शिवालय शिव पार्वती बृद्धाश्रम’ निर्माण गरिएको हो ।
सामाजिक विकास कार्यालय रुकुम पश्चिमको दश लाख रकम लगानीमा बृद्धाश्रम बनाईएको हो । कार्यालयका निमित्त प्रमुख ध्रुव कुमार बाँठा मगरका अनुसार शिवालय शिव पार्वती बृद्धाश्रम निर्माण समितिको अगुवाईमा हलसहित तीन कोठे बृद्धाश्रम निर्माण गरिएको हो ।
बृद्धाश्रम निर्माण पश्चात यस क्षेत्रका जेष्ठ नागरिकहरु भेला हुने, पुराना अनुभवहरु साटासाट गर्ने, आवास आवश्यक भएकाहरुको लागि आवासस्थान समेत उपलब्ध हुने विश्वास लिईएको कार्यालयका निमित्त प्रमुख बाँठा मगरले उल्लेख गर्नुभयो ।
बृद्धाश्रम निर्माण समितिका अध्यक्ष फत्तेबहादुर पुरीका अनुसार यस अघि शिव पार्वती मन्दिर रहेको स्थानमा स्थानीयवासीले जग्गा उपलब्ध गराएपछि बृद्धाश्रम बनाईएको हो । भवन निर्माणपछि अब खानेपानी, शौचलय, घेराबार र भान्सा कोठाको आवश्यकता रहेको अध्यक्ष पुरीले जनाउनुभयो ।
जेष्ठ नागरिक प्रेम बहादुर पुरीले बृद्धाश्रम निर्माणपछि यस क्षेत्रका बृद्धबृद्धाहरु खुशी भएको बताउनुभयो । उहाँले अब यस भवनमा जेष्ठ नागरिकहरु भेला हुन, विभिन्न भजन किर्तनहरु गर्न, विगतका अनुभवहरु साटासाट गर्न सहज हुने बताउनुभयो ।