भिरबाट लडेर शिक्षक खड्काको मृत्यु

बिहीबार, जेठ २४, २०८१

रुकुम पश्चिममा भिरबाट लडेर एक जना शिक्षकको मृत्युु भएको छ ।

त्रिवेणी गाउँपालिका -१० पेउघा घर भई सोही स्थानमा रहेको बालकल्याण माध्यमिक बिद्यालय टोड्केमा कार्यरत शिक्षक भद्रबहादुर खड्काको मृत्यु भएको हो ।

बिद्यालयका प्रधानाध्यापक खम्बबहादुर केसीले बुधबार बिद्यालयको काम सकेर घर जादै गर्दा घर नजिकैको भिरबाट खसेको जानकारी दिनुभयो ।

भिरबाट लडेर गम्भीर घाइते हुनुभएका खड्कालाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याईएको बेला चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उहाँ भिरबाट लडेर करिब चार सय मिटर तल पुग्नुभएको थियो ।

उहाँ २०५३ देखि २०६० सम्म नेपाल राष्ट्रिय आधारभुत बिद्यालय मुसिकोट नगरपालिका -१२ जमारूमा कार्यरत हुनुहुन्थ्यो । हाल बालकल्याण मावि टोड्केमा प्रावि स्थायी शिक्षक पदमा कार्यरत हुनुहुन्थ्यो ।

उहाँ मिलनसार, क्षमतावान र सहयोगी शिक्षकको रुपमा चिनिनुहुन्थ्यो ।

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  ०८:१५
प्रतिक्रिया दिनुहोस्