कलात्मक मन्दिर

रुकुम पश्चिममा कर्णालीकै पहिलो 'सिसमहल' मन्दिर निर्माण

सिसाले सजिएको देशभरकै तेस्रो मन्दिर सोलाबाङमा 
बुधबार, जेठ ३०, २०८१

रुकुम पश्चिमको मुसीकोट नगरपालिका –४ सोलाबाङमा कलात्मक सिसमहल मन्दिर निर्माण भएको छ । शिवधाम क्षेत्र संरक्षण तथा सिसमहल मन्दिर निर्माण समितिले सिसैसिसाका कलात्मक आकृतिहरु सहितको मन्दिर निर्माण गरेको हो ।  

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जनार्दन शर्माका अनुसार यो मन्दिर एक रोपनी क्षेत्रफल जग्गामा निर्माण गरिएको छ । यो मन्दिर निर्माणका लागि आफू र बिमल शर्माले एक रोपनी जग्गा उपलब्ध गराएको उहाँले बताउनुभयो । मन्दिर परिसरमा विवाह मण्डपका साथै अन्य संरचनाहरु समेत बनाईएको छ । राप्ती राजमार्गबाट मन्दिरगेटसम्म पुग्नलाई सडक पक्कि बनाईएको छ । 

मन्दिरको भित्र सिसाका टुक्राहरु चप्काएर बुट्टा भरिएको छ भने सिसाका कलात्मक फूलहरु बनाईएको छ । मन्दिरको भित्रिभागमा चार फिट माथि ऐनाहरु राखिएको छ भने सिलिङगमा समेत सिसाका बुट्टाहरु राखिएको छ । स्थानीय मिस्त्रीहरुले मन्दिर भवन निर्माण गरेका हुन् भने बुट्टा र सिसाका कलात्मक आकृति निर्माणका लागि नेपालगञ्ज र भारतको दिल्लीबाट मिस्त्रीहरु आएर काम गरेका हुन् ।

शिवधाम क्षेत्र संरक्षण तथा सिसमहल मन्दिर निर्माण समितिका सचिव बिमल शर्माले मन्दिर निर्माणका लागि हालसम्म एक करोड पाँच लाख ४९ हजार रुपियाँ खर्च भएको बताउनुभयो । यस मन्दिरमा हालसम्म कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय मार्फत डिभिजन वन कार्यालयको ७५ लाख, मुसीकोट नगरपालिकाको २८ लाख, बैदेशिक रोजगारीमा रहेका स्थानीयको एक लाख सात हजार र स्थानीयले देउसीभैलो खेलेर संकलन गरेको एक लाख ४२ हजार रुपियाँ लगानी भएको छ । 

Sismandir_Rukum_Rsju-(1)-1718207148.jpgतीन वर्ष पहिला निर्माण सुरु गरिएको यो मन्दिरमा शिवको मूर्ति प्रतिस्थापना गर्न भने बाँकि रहेको छ । मूर्ति आईसकेको र शुभसाईत पारेर स्थापना गरिने तयारी रहेको सचिव शर्माले जनाउनुभयो । 

डिभिजन वन कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारले पर्यावरण विकास र धार्मिक आस्थाको सम्मानको मन्दिर निर्माण गरिएको बताउनुभयो । उहाँका अनुसार यो मन्दिर कर्णाली प्रदेशको पहिलो र नेपालकै तेस्रो सिसमहल मन्दिरको रुपमा लिईन्छ । यस अघि नवलपरासीको सुस्तामा गजेन्द्र मोक्षधाम र सिन्धुलीको काभ्रेस्थलीमा सिसाको मन्दिर निर्माण गरिएको छ । 

448269135_429187020076894_8117086913458782015_n-1718207314.jpg
 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  २१:३४
प्रतिक्रिया दिनुहोस्