Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मेघापुलको ठेक्का रद्ध : दुई वर्षमै पुल बनाउने सम्झौता, दश वर्षसम्म पाँच प्रतिशत प्रगति

निर्माण व्यवसायीलाई कालो सूचिमा राखिने
बिहीबार, जेठ ३१, २०८१
tribeni2

रुकुम पश्चिममा एक पुल निर्माणको ठेक्का सम्झौता भएको करिब १० वर्षसम्ममा पाँच प्रतिशत मात्र भौतिक प्रगति देखिएपछि सम्झौता अन्त्य गरिएको छ ।

सडक डिभिजन कार्यालय चौरजहारीले जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्वर २ र ४ जोड्ने मेघा पुल निर्माणको ठेक्का पाएको सपना सैलुङ्ग जेभि ललितपुरसँगको सम्झौता रद्ध गरेको हो ।

सडक डिभिजन कार्यालयका अनुसार तत्कालित मध्यपश्चिमाञ्चल डिभिजन सडक कार्यालय नम्वर २ घोराही, दाङ र उक्त निर्माण कम्पनी बिच ०७१ साल मङसिर २ गतेका दिन २०७३ पुस १ मा काम सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो । उक्त मितिमा काम नभएपछि २०७७ पुस १३ गतेसम्मको लागि काम गर्ने म्याद थप गरिएको थियो ।

उक्त मिति पछि पनि न काम भएको छ न त म्याद थप भएको छ । अहिले यो योजना लथालिङग बनेको छ ।  डिभिजन प्रमुख तेजस्वी शर्माले समयमै काम नभएको, व्यवसायीलाई लिखित तथा मौखिक रुपमा कार्य सम्पन्न गर्न पटक पटक अनुरोध गर्दा पनि ठेक्का सम्झौताका शर्तहरु बमोजिम करारीय दायित्व पुरा गर्न नसकेको हुँदा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९(७) र ठेक्का सम्झौताको आधारमा सम्झौता अन्त्य गरिएको डिभिजन प्रमुख शर्माले जानकारी दिनुभयो ।

उहाँले सार्वजनिक सूचना जारी गरेर ठेक्का रद्ध गरिएकोले सात दिनभित्र निर्माण व्यवसायिको आधिकारिक प्रतिनिधिले सम्झौता अन्त्यपछिको मूल्याङकनको लागि कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको बताउनुभयो । सानीभेरी नदि माथिको १२० मिटर लामो उक्त आरसिसि पुल निर्माणका लागि १४ करोड ७४ लाख रुपियाँमा सम्झौता भएको थियो । साबिक गरायला र पुर्तिमकाँडा गाविसमा पर्ने यो पुल देवस्थल चौरजहारी राडिज्युला डोल्पा सडकखण्ड अन्तर्गत पर्ने गर्दछ । 

ठेक्का अन्त्यपछि अब बाँकि कामको मूल्याङकन हुने र सम्पूर्ण खर्च सरकारी अपुल उपर गरिने डिभिजन प्रमुख शर्माले जानकारी दिनुभयो । यसका साथै उक्त निर्माण व्यवसायीलाई कालो सूचिमा राख्ने प्रक्रिया समेत सुरु गरिएको छ । ठेक्काको पाँच प्रतिशत भौतिक प्रगति गरेको उक्त निर्माण व्यवसायीले ५५ लाख रुपियाँ भुक्तानी लिएको छ ।

सानीभेरी गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष मानबहादुर पुनले सम्झौता भएको दशक पुग्दापनि मोटरेबल पुल निर्माणको काम नै नभएपछि सर्वसाधारणले सास्ती पाएको बताउनुभयो । उक्त पुल निर्माण भएमा मध्यपहाडि सडकमार्गको फल्याबगर देखि गरायला, रिम्ना, डोल्पा आउजाउमा सहजता हुने वडा अध्यक्ष पुनले जानकारी दिनुभयो । 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १४:१८
प्रतिक्रिया दिनुहोस्