एमाले चौरजहारीको विवाद पार्टी केन्द्र हुँदै वडासम्मै छताछुल्ल 

कार्यकर्तामा निराशा
शुक्रबार, जेठ ३२, २०८१

नेकपा एमाले चौरजहारी नगर कमिटीको नेतृत्व चयनको विवाद एक महिना पुरा हुँदासम्म पनि समाधान भएको छैन । बरु यो विवाद पार्टी केन्द्रसम्म पुगेर कर्णाली प्रदेश कमिटी हुँदै छानबिनको क्रमसम्म पुगेको छ । 

यति मात्रै नभएर वडा वडामा चयन हुने नयाँ नेतृत्व चयनमा समेत यो विवाद छताछुल्ल भएको छ । गत जेठ १ गते उद्घाटन भएको चौरजहारी नगरकमिटीको दोश्रो अधिवेशन सोहि दिनमै बन्दसत्रमा प्रवेश गरेको थियो । निर्वाचन प्रक्रियाको क्रममा उपााध्यक्ष, सचिव र दुई उपसचिव पदमा सहमती भएतापनि अध्यक्ष पदका लागि भने सहमति हुन सकेको थिएन । 

जिल्ला सचिव शशिराम परियारको संयोजकत्वमा रहेको अध्यक्ष मण्डलले अतिराम ओलीको अध्यक्षतामा नगर कमिटी घोषणा गरेको थियो । त्यसपछि अध्यक्ष उमेदवार ओम प्रकाश आचार्यसहित आक्रोशित कार्यकर्ताले चौरजहारी नगरपालिका -२ मा रहेको पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए । अध्यक्ष मण्डलका बहुमत सदस्यहरुलाई बैठकमा निषेध गरेर कमिटी घोषणा गरिएको भन्दै अध्यक्ष मण्डल नै बिभाजन भएर आचार्यलाई अध्यक्ष घोषणा गरिएको थियो । 

केन्द्रबाट अल्टिमेटम

त्यसयता ओली र आचार्यले आफू आफूलाई अध्यक्ष भन्दै फरक फरक बिज्ञप्ती, बैठक गर्दै आईरहेको अवस्था रहेको छ । यो विवाद अहिले पार्टीको केन्द्रिय कमिटीसम्म पुगेको छ । मूलपाटीलाई प्राप्त जानकारी अनुसार केन्द्रले जेठ २२ गते कर्णाली प्रदेश कमिटीलाई चौरजहारी नगर कमिटीको अधिवेशन र नेतृत्व चयनको विवादका बारेमा यथार्थ जानकारी दिन निर्देशन दिएको थियो ।

तर हालसम्म पनि प्रदेश कमिटीले उक्त विषयमा वेवास्ता गरेपछि ३१ गते पुनः परिपत्र गरेको छ । परिपत्रमा एक हप्ता भित्र जिल्ला कमिटीहुँदै नगरसम्मको अवस्था बुझेर यथार्थ विवरण पेश गर्न अल्टिमेटम दिएको एक एमाले नेताले जानकारी दिनुभयो ।  

वडासम्म विवाद 

यता जिल्लाभर एमालेका वडा अधिवेशनहरु भईरहेका छन् । तर चौरजहारीमा भने दुबै जना अध्यक्षले आफू अनूकुलका कार्यकर्ताहरु रहेका वडाहरुमा अधिवेशन गरिरहेका छन् । अध्यक्ष ओली निकटको कमिटीले वडा नम्वर २, ३ र ८, ९ को अधिवेशन गरिसकेको छ भने आचार्य निकटको कमिटीले वडा नम्वर ११, १२ र १३ मा वडा अधिवेशन सम्पन्न गरिसकेको बताईन्छ । वडा नम्वर १ को अधिवेशनका क्रममा दुई अध्यक्ष समुह बिचमा विवाद हुँदा स्थगित गरिएको छ । 

कार्यकर्तामा निराशा

नगर कमिटी नै समानान्तर, विवादको विषय केन्द्रसम्म पुगेको र वडास्तरमा अलग अलग कमिटी चयन हुन थालेपछि स्थानीय कार्यकर्ताहरु चिन्तित बनेका छन् । यस कार्यले कमिटीका कार्यकर्ताहरुलाई राम्रो प्रभाव परेको छैन ।

अरुलाई आकर्षित गरेर पार्टी बलियो बनाउने बेलामा आफ्नै भित्र फरक फरक गुट बनाएर पार्टी कमजोर बनाउने काम भएको एक कार्यकर्ताले उल्लेख गर्नुभयो । विवाद वडा कमिटीसम्म पुगेर छताछुल्ल भएपछि कार्यकर्तामा निराशा छाएको उहाँको भनाई छ ।

दुई अध्यक्षका आ-आफ्नै दाबी

8f6b6ef2-ca0c-41c8-a82a-6e99a2e61100-1718331290.jpegअहिले चौरजहारी एमालेमा दुई अध्यक्ष रहेछन् । अध्यक्ष अतिराम ओलीले विधिवत तरिकाले चयन भएको अध्यक्ष मण्डलले मलाई अध्यक्ष घोषणा गरेको बताउनुभयो । उहाँले सर्वसम्मत तरिकारले नगर कमिटी घोषणा भएर सपथ समेत भएको र नगर कमिटीको दुई वटा बैठक सम्पन्न गरेर वडा अधिवेशनहरु सम्पन्न गर्नतर्फ लागिरहेको जानकारी दिनुभयो ।

ओलीले केहि असन्तुष्ट साथीहरुले बिरोध जनाउने काम गरिरहेको र यो कार्य पार्टी अनुशासन भन्दा बाहिर हुनुका साथै पार्टीको लागि हितकारी नभएको बताउनुभयो । पार्टीलाई आफूले जिम्मेवारी दिएपछि कार्यान्वयन गर्ने क्रममा रहेकोले जिल्ला कमिटीले समेत आफ्नो नेतृत्वको टोलीलाई मान्यता दिएको उहाँको भनाई । केहि वडाहरुमा कार्यकर्ताहरु जम्मा गरेर वडा अधिवेशन गरेको भन्दै भ्रम छर्न खोजेको ओलीले बताउनुभयो । 

अर्का अध्यक्ष ओम प्रकाश आचार्यले बहुमत प्रतिनिधिहरुसहितको अध्यक्ष मण्डलले आफुलाई अध्यक्ष चयन गरेको बताउनुभयो । उहाँले पार्टीको विधानमा अध्यक्ष मण्डलले विवादका बिच कमिटी घोषणा गर्ने व्यवस्था नगरेको, जिल्ला सचिव परियारको संयोजकत्वमा रहेको अध्यक्ष मण्डलले विधान र पद्धती बाहिर गएर अध्यक्ष घोषणा गरेको बताउनुभयो । 

अध्यक्षमा आफ्नो उमेद्वारी कायमै रहेको, बहुमत प्रतिनिधिहरुले सहमति नभए चुनावबाटै नेतृत्व छान्न माग गरेको अवस्थामा भित्रबाट ताला लगाएर छतमा गएर नेतृत्व घोषणा गर्ने काम भएको आचार्यको भनाई छ । उहाँले यो कार्य आम कार्यकर्ताको मनोभावना विपरित रहेको र जिल्ला कमिटी पनि रमिते बनेको आरोप लगाउनुभयो । 

नगर कमिटीका अन्य पदहरुमा भने सर्वसम्मत पदधिकारीहरु चयन गरिएको थियो । दुबै अध्यक्ष मण्डलको टिमले उपाध्यक्षमा कपिल बिक, सचिवमा डिल्लीराज शर्मा, उप सचिवमा रिरु प्रसाद लामिछाने र सीता सार्कीलाई घोषणा गरेको थियो । ४९ सदस्यीय नगर कमिटी चयन गरिएको हो ।

25eeba85-2551-4b3c-a1bf-5ca34522e59d-1718331254.jpeg

1ceb66d1-b10d-4271-87df-5b8059716cd2-1718331285.jpeg

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्