रोजगारीको लागि भारत गएका एक रुकुमेलीको मृत्यु

आइतबार, असार २, २०८१

रोजगारीको सिलसिलामा भारत गएका एक रुकुमेली युवाको मृत्यु भएको छ । 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –८ घोरखानी निवासी ३४ वर्षिय कमल थापाको मृत्यु भएको हो । थापा भारतको कास्मिरतर्फ जाने क्रममा स्थानीय सोनामार्क बजारबाट डेढ महिना अघि हराउनु भएको र गत जेठ २८ गते शव फेला परेको मुसिकोट नगरपालिका वडा नम्वर ८ का वडा सदस्य हिम कुमार पाण्डेले जानकारी दिनुभयो । 

थापाको शव हिउँमा पुरिएको अवस्थामा फेला परेको खबरपछि गाउँबाट शव ल्याउने भनेर उक्त स्थानमा पुगेको तर सडेको अवस्थामा भएको कारण श्रीनगर भन्ने ठाउँमा दाहसंस्कार गरेर नेपाल फर्कदै गरेको पाण्डेले जानकारी दिनुभयो ।

डेढ महिना पहिला जम्मु कास्मिर जाने क्रममा क्याप्टेन मोड भन्ने स्थानमा भएको ठुलो हिमपातको कारण थापा केहि साथीहरुसहित सोनामार्क बजारमा फर्केको र त्यहाँबाट हराउनुभएको थियो ।

वडा सदस्य पाण्डेका अनुसार साथीहरुले खोजतलास गर्दा पनि उहाँ भेटिनुभएको थिएन । त्यहाँबाट करिब १० किलोमिटर टाढाको हिमालमा रहेको हिउँमा अहिले शव फेला परेको उहाँले जनाउनुभयो । मृतक थापाको घरमा एक छोरा, एक छोरी र श्रीमति हुुनुहुन्छ । 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १३:३१
प्रतिक्रिया दिनुहोस्