Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जोखिमपूर्ण भवनमा डराई–डराई पढाई

विद्यालय भवन पुनर्निर्माणका लागि अनुरोध
मंगलबार, असार ४, २०८१
tribeni2

रुकुम पश्चिममा जोखिमपूर्ण अवस्थामा रहेका विद्यालय भवनमा राखेर बालबालिकाको पठनपाठन हुने गरेको छ । गत कार्तिक महिनामा आएको भूकम्पको कारण भत्किएका र चर्किएका विद्यालय भवनहरु पुनर्निर्माण तथा मर्मत नभएपछि जोखिमपूर्ण भवनमै बालबालिका राखेर कक्षा सञ्चालन गरिएको हो । 

सानीभेरी गाउँपालिका –२ मा रहेको भेरी दोभान माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्र धनबहादुर बिकले हेर्दा नै अब भत्किएला जस्तो भएको भवनको कोठामा बसेर पढ्नु परेको बताउनुभयो । बिकले कोठाभित्रै छिर्न डरलाग्ने गरेको र कक्षामा पनि डराईडराई बस्नु परेको सुनाउनुभयो ।

सोहि विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा संगीता रानाले भूकम्पपछि ढुक्कले कक्षाकोठामा बसेर पढ्ने नपाएको बताउनुभयो । ‘नपढेर पनि भएन’, रानाले भन्नुभयो, ‘विद्यालयका भवनहरु कहिले बन्लान् र आनन्दले कक्षा कोठामा बसेर पढ्न पाउँला भन्ने लागिरहेको ।’

विद्यालयमा प्रधानाध्यापक भुपेन्द्र ओलीले भूकम्पको कारण विद्यालयका सबै भवन र कक्षाकोठा जिर्ण बनेको बताउनुभयो । शिशु देखि कक्षा १२ सम्म पढाई हुने यस विद्यालयमा अहिले दुई वटा अस्थायी सिकाइ कक्षा (टिएलसी) बनाईएको छ । कक्षाकोठा अभाव भएपछि कक्षा ८, १० र ११ लाई चर्किएकै भवनको कोठामा राखेर पठनपाठन गर्न बाध्य भएको प्रधानाध्यापक ओलीले बताउनुभयो । 

भूकम्प गएको साढे सात महिनासम्म यहाँका बालबालिकाहरुले पढाई प्रभावित बनिरहेको छ । सानीभेरी गाउँपालिकाका शिक्षा अधिकृत भुपालसिं बिष्टका अनुसार भूकम्पले सानीभेरीमा मात्रै २० वटा विद्यालयका ६४ कक्षाकोठा पूर्णरुपमा क्षति भएका छन् भने ४५ वटा विद्यालयका १०५ वटा कोठा चर्किएका छन्  । यी मध्य ३९ वटामा मात्र अस्थायी सिकाई केन्द्र बनाईएको छ । नयाँ भवन नबन्दा र चर्किएका भवन मर्मत नहुँदा जोखिमपूर्ण अवस्थामै कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको शिक्षा अधिकृत ओलीले जनाउनुभयो । 

आठविसकोट गाउँपालिकामा पनि चर्किएकै भवनमा राखेर बालबालिका पढाउने काम भईरहेको छ । वडा नम्वर ५ मा रहेको मष्टकैलाश आधारभूत विद्यालयका प्रधानाध्यापक धनप्रसाद शर्माले भूकम्पले चिराचिरा परेको भवनमै राखेर बालबालिका पढाउनु परेको बताउनुभयो । हावाहुरी चल्दा र पानी पर्दा भने भत्किने डरले बालबालिकालाई चर्किएको भवनबाट निकालेर एउटै कोठामा राखेर तीन वटासम्म कक्षा सञ्चालन गर्नुपरेको उहाँको भनाई छ ।

आदर्श मावि घेत्माका प्रधानाध्याक तिलक नारायण मल्लले पनि कक्षा १, २ र ३ लाई चर्किएकै भवनमा राखेर पढाउनु परेको बताउनुभयो । 

आठविसकोट नगरपालिकाका शिक्षा अधिकृत ईन्द्रबहादुर बिष्टका अनुसार भूकम्पले यहाँका ५४ वटा सामुदायिक विद्यालय भवनमा पूर्ण रुपमा क्षती गरेको छ । उहाँका अनुसार नगरपालिका क्षेत्रका ६४ वटा विद्यालय मध्य अन्यमा आंशिक क्षती भएको थियो ।

तत्काल ५९ वटा अस्थायी सिकाइ केन्द्र आवश्यक रहेतापनि २२ वटा बनेका छन्, १० वटा निर्माणको क्रममा छन् । बाँकि विद्यालयमा चर्किएकै भवनमा बालबालिकाको पठनपाठन हुने गरेको छ ।

यहाँको शिक्षा, स्वास्थ्य, सामुदायिक भवन, सिंचाई लगायतका क्षेत्रमा भएको भौतिक क्षतीको पुनर्निर्माणका लागि विभिन्न निकायको सहयोग आवश्यक रहेको उहाँको भनाई रहेको छ । 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  ०९:१४
प्रतिक्रिया दिनुहोस्