मुसिकोटमा ८४ करोडको बजेट, कृषि र सार्वजनिक संरचनामा जोड दिने नीति

मंगलबार, असार ११, २०८१

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको १४ औं नगरसभामा आगामी आर्थिक वर्ष ०८१/८२ को लागि  ८४ करोड बढीको अनुमानित बजेट पेश भएको छ । 

उप-प्रमुख बिमलकुमार पुनले ८४ करोड ७१ लाख ७८ हजार ९८६ रुपैयाँ बराबरको अनुमानित बजेट पेश गर्नुभएको हो । कुल विनियोजन बजेट मध्ये चालुतर्फ ५६ करोड ९३ लाख ७८ हजार ९८६ रुपियाँ अर्थात् ६६.५३ प्रतिशत बजेट विनियोजन गरिएको छ भने पुँजीगततर्फ  २८ करोड १८ लाख अर्थात् ३३.४६ प्रतिशत बजेट विनियोजन गरिएको नगर प्रमुख पुनले जानकारी दिनुभयो । 
 
नगरपालिकाले सार्वजनिक क्षेत्र सडक, वन, सरकारी जग्गा र सार्वजनिक जग्गामा बनेका घर टहराहरू हटाउने, नक्सा पास नगरी अव्यवस्थित रूपमा बनाइएका घर टहराहरू पनि हटाउने नीति ल्याएको छ । नगर प्रमुख महेन्द्र केसीले कृषि र सावैजनिक सम्पतिको संरक्षणमा जोडि दिने पीति तथा कार्यक्रम नगर सभामा पेश गर्नुभएको हो । 

नगर प्रमुख केसीले किसानलाई प्रोत्साहन दिने, प्राविधिक ज्ञान तथा कृषि उपजको बजारीकरणमा ध्यान दिने, कृषि सङ्कलन केन्द्र निर्माण तथा विक्री केन्द्र स्थापना गरी सञ्चालन गर्ने, कृषकहरूको वर्गीकरण गरी परिचयपत्र वितरण गर्ने नीति समेत लिएको बताउनुभयो । 

स्थानीय उत्पादनलाई प्रोत्साहन गरी बजारीकरण गर्ने, वैदेशिक रोजगारीबाट फर्केकालाई कृषिमा जोड्न मल, बिउ र अन्य प्रोत्साहन दिने, प्राविधिक शिक्षा हासिल गरेका युवालाई व्यवसायमा जोड्ने, दूध, मासु तथा अण्डा उत्पादन गर्ने कृषकलाई प्रोत्साहन दिने र नगरभित्रका खेतियोग्य जमिनमा बाह्रै महिना सिंचाइको व्यवस्थापन गर्ने नीति नगर सभामा पेश गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  २०:१०
प्रतिक्रिया दिनुहोस्