Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बजेट पेश गर्न रोष्टममा पुगेकी उपाध्यक्षले झोला नै च्यातेपछि .....

बिहीबार, असार १३, २०८१
tribeni2

हरेक वर्षको असार १० गतेभित्र देशका सबै स्थानीय तहहरुले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट स्थानीय तहको सभामा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । 

पालिका प्रमुख तथा अध्यक्षले नीति तथा योजना र उपप्रमुख तथा उपाध्यक्षले कार्यक्रम र बजेट सभामा पेश गर्ने चलन रहेको छ । तर रुकुम पूर्वको एक पालिकामा भने बजेट तथा कार्यक्रम पेश गर्ने जिम्मेवारीमा रहेका गाउँपालिका उपाध्यक्षले बजेट बोकेको झोला नै च्यातेको खबर बाहिरिएको छ । 

असार १० गते, भूमे गाउँपालिकाको सभाहल खाबाङमा गाउँ सभाको १५ औ अधिबेशन चलिरहेको बेला उपाध्यक्ष सविना बुढाले आफैले बोकेको बजेट तथा कार्यक्रमको झोला च्यात्नु भएको हो । 

सभा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले उपाध्यक्ष बुढालाई गाउँसभामा बजेट तथा कार्यक्रम पेश गर्न अनुरोध गरेपछि सभाको रोष्टममा आएर उपाध्यक्ष बुढाले अस्वभाविक गतिविधि गरेको सभामा उपस्थित एक सदस्यले मूलपाटीलाई जानकारी दिनुभयो । 

रोष्टममा उभिएर सुरुमै झोला च्यात्दै बुढाले भन्नुभयो,  ‘ल भन्नुस, बजेटको कुनै औचित्य छ ?’ आक्रोशित उपाध्यक्ष बुढाले रातो रिबनले बेरेको झोला च्यात्न थालेपछि सभाध्यक्ष श्रेष्ठले मर्यादित भएर आफ्नो काम प्रस्तुत गर्न अनुरोध गर्दै अनुमति दिनुभयो । 

उहाँको आक्रोश थामिएको थिएन । गाउँ सभा सदस्यहरुतर्फ प्रश्न गर्नुभयो, ‘ल भन्नुहोस्, हिजोका दिनहरुमा के हामीले यसरी नै बजेट ल्याएका थियौ ? बजेटको कुनै औचित्य छ ?’ 

झोला बेरिएको रातो रिबन काट्नलाई रोष्टममा कैचि राखिएको थियो । रिबन काटेपछि सबैले तालि बजाउने परम्परा छ । तर उहाँले कैचि प्रयोग नगरी आक्रोशित अभिव्यक्तिका साथ बजेट तथा कार्यक्रम बोकिएको झोला नै च्यात्नुभयो । 

उहाँको यस्तो हर्कतले गाउँसभामा आएका सबै अचम्मित भए । अगाडि बसेका सभाका सदस्यहरुले ‘उपाध्यक्ष ज्यु तपाईले गल्ति गर्दै हुनुहुन्छ, नच्यात्नुहोस्’ भनेर अनुरोध गरे । 

बल्ल उपााध्यक्षको रिसको आवेग कम भयो र बजेट पुस्तिका च्यातिनबाट जोगियो । अनि उहाँ अगाडि बढ्नुभयो, ‘मैले नचाहाँदा नचाहाँदै पनि, जे जति पीडा भएतापनि तपाईहको अगाडि बाध्यात्मक स्थितीले बजेट पेश गर्दैछु ।’ 

उहाँले एक दुई जना झोले कर्मचारीहरुको लहैलहैले गर्दा मिडियाको अगाडि बेईज्यत भएको समेत बताउनुभयो । उहाँले बजेटलाई स्वागत नगरेको तर अध्यक्ष हलमा आउँदा राष्ट्रिय गान बजाएको भन्दै असन्तुष्टि पोख्नुभयो ।  

स्थानीय सरकारको तर्फबाट बजेट पेश गर्नुपर्नेले नै बजेटको झोला च्यातेको सम्भवतः यो पहिलो र अनौठो घटना हो । आफ्नो क्षेत्रमा कम बजेट परेको भन्दै उपाध्यक्षले त्यस्तो हर्कत गरेको बताईन्छ । 

यस विषयमा उपाध्यक्ष बुढाले आफूलाई हरेक स्थानमा गरिएको अपमान र पेलान सभामा देखिएको बताउनुभयो । उहाँले स्थानीय सरकारमा भएको एकलौटि र अन्यायको संकेत प्रस्तुत गरेको प्रतिक्रिया दिनुभयो । ‘यस बिषयमा म तपाईसँग भेटेरै बिस्तृत बताउँला’ उपाध्यक्ष बुढाले मूलपाटीसँगको टेलिफोन कुराकानीमा भन्नुभयो, ‘जनताले सहि कुरा बुझ्न आवश्यक छ, मैले बजेट तथा कार्यक्रमको एकलौटीबारे बोलेर केहि हुनेवाला छैन, तर सहन सकिन र आक्रोश व्यक्त गरे ।’

सामाजिक सञ्जाल फेसबुकमा समेत उहाँले विभिन्न चुनौतीको सामना गर्दै गाउँपालिकावासीमा खुशी ल्याउन सफल भएको र कमीकमजोरी प्रति क्षमायाचना समेत गर्नुभएको छ । 

भूमे गाउँपालिका अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष बुढा बिचमा लामो समयदेखि नै बेमेल भएको बताईन्छ । एक अर्कालाई विभिन्न आरोप प्रत्यारोपसहित सामाजिक सञ्जाल फेसबुकमा अभिव्यक्ति सार्वजनिक हुने गरेको पाईन्छ । उहाँहरु दुबै जना नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुनुहुन्छ । तर, राम्रोसँग बोलचाल छैन । 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १९:१२
प्रतिक्रिया दिनुहोस्