स्काउट दलमा आबद्ध ५५ विद्यार्थीलाई पोशाक वितरण

शुक्रबार, असार १४, २०८१

रुकुम पूर्वको सिस्ने गाउँपालिकामा रहेको रुक्मिणी माध्यामिक विद्यालयमा स्काउट पोशाक वितरण गरिएको छ । रुक्मिणी स्काउट दलमा आबद्ध ५५ जना बिद्यार्थीहरुलाई आज एक कार्यक्रमका बिच पोशाक वितरण गरिएको हो । 

नेपाल स्काउट लुम्बिनी प्रदेशको सहयोगमा ३२ जना बिद्यार्थीहरुलाई र विद्यालयको सहयोगमा अन्य २३ जना बिद्यार्थीहरुलाई उक्त पोशाक वितरण गरिएको हो । 

बालबालिका तथा किशोरकिशोरीहरुलाई बिभिन्न प्रकारका शारीरिक, मानसिक, सामाजिक र नेतृत्व विकासका गतिविधीहरुमा सहभागी गराई उनिहरुलाई क्षमतावान बनाउने उद्धेश्यका साथ बिद्यालयमा स्काउट दल गठन गरिएको छ । उक्त दलमा ६ कक्षा देखि ९ कक्षासम्मका बिद्यार्थीहरुको सक्रिय सहभागिता रहेको छ । 

बालबालिकाको चरित्र निर्माण, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्ने उद्धेश्यका साथ स्काउटमा आवद्ध भएका बिद्यार्थीहरुलाई हौसला स्वरुप बिभिन्न बिद्यालयहरुमा पोशाक वितरण गर्दै आएको र यसै क्रममा यस बिद्यालयलाई पनि उपलब्ध गराएको नेपाल स्काउट लुम्बिनी प्रदेशका प्रमुख आयुक्त दिनानाथ भट्टराईले जानकारी दिनुभयो ।

स्काउटिङ्गका माध्यमबाट बालबालिकालाई अग्रसर बनाई बिभिन्न कार्यहरुमा भरपुर साथ दिन लुम्बिनी प्रदेश स्काउट कार्यालय हरपल समर्पित रहने प्रदेश कार्यालय प्रमुख तारा पुरीले जानकारी दिनुभयो । 

4bcf4955-e72b-4424-954d-6bdea3edeeb7-1719588037.jpegयस्तै कार्यक्रममा बोल्दै सिस्ने गाउँपालिकाका उपाध्यक्ष एवम् स्थानीय स्काउट प्रमुख गोपाल रेउलेले बालबालिकालाई सामाजिक सेवामा समर्पित गर्न स्काउटको मुख्य भूमिका रहेको औँल्याउदै स्काउटमा आबद्ध बिद्यार्थीहरुलाई स्काउटका माध्यमबाट भरपुर रुपमा क्षमता अभिबृद्धि गर्न अनुरोध गर्नुभयो । समाज निर्माणका कुनै पनि क्रियाकलापमा निःस्वार्थ रुपमा सहभागिता जनाउन पनि उहाँले आग्रह गर्नुभएको छ । 

यसैबीच बिद्यालयका प्रधानाध्यापक एवम् रुक्मिणी स्काउट दलका संयोजक चन्द्र बहादुर मल्लले पोशाक उपलब्ध गराएर सहयोग गर्ने प्रदेश स्काउट कार्यालयलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । 

बिद्यालयका प्रधानाध्यापक एवम रुक्मिणी स्काउट दलका संयोजक चन्द्र बहादुर मल्लको अध्यक्षता रहेको कार्यक्रममा सिस्ने गाउँपालिकाका उपाध्यक्ष एवम् स्थानीय स्काउट प्रमुख गोपाल रेउलेको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम प्रकाश थापा, शिक्षक, बिद्यार्थी लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन शिक्षक घनश्याम दाहालले गर्नुभएको थियो । 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  २१:०६
प्रतिक्रिया दिनुहोस्