नेभिगेशन
समाज

रुकुमकोटमा कक्षा ८ को परीक्षाको बिश्लेषण, एसइईको नतिजाको समिक्षा

रुकुम पूर्वमा शैक्षिक विषयक सरोकारवाला अन्तरक्रिया सम्पन्न गरिएको छ । कक्षा ८ को परीक्षा र माध्यामिक शिक्षा परिक्षा कक्षा १० को नतिजा विश्लेषण एवम् समिक्षाका लागि आयोजित सरोकारवालाको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

शिक्षा विकास तथा समन्वय इकाई रुकुम पूर्वको आयोजनामा रुकुमकाेटमा जिल्लाका सरोकारवालाहरुको उपस्थितीमा उक्त कार्यक्रम संचालन गरिएको थियो । प्रत्येक वर्ष संचालन हुने पालीका स्तरीय कक्षा ८ को परिक्षा र भर्खरै नतिजा प्रकाशन गरिएको माध्यामिक शिक्षा परिक्षा कक्षा १० को नतिजा सन्तोषजनक आउन नसकेपछि समिक्षा कार्यक्रमको आयोजना गरिएको शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख तिलक गौतमले जानकारी दिनुभयो । 

यस वर्ष पालिका स्तरीय कक्षा ८ को वार्षिक परिक्षामा जिल्लाभरीबाट सहभागी १ हजार १ सय ६३ जनाले परिक्षा दिएकोमा ८ सय ४२ जना बिद्यार्थी उत्तिर्ण भएका थिए भने ३ सय २१ जना अनुत्तीर्ण भएको इकाइ प्रमुख गौतमले जानकारी दिनुभयो ।

यस्तै माध्यमिक शिक्षा परीक्षा एसइइमा रुकुमपूर्वबाट साधारण धारतर्फ ९ सय ६५ विद्यार्थीेले परीक्षा दिएकोमा २ सय ४६ जना उत्तीर्ण भएका छन् । अर्थात २५.४९ प्रतिशत उत्तीर्ण हुँदा ७४.५१ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् । 

यसैगरी प्राविधिक धार तर्फ ५७ जना विद्यार्थीले परीक्षा दिएकोमा २७ जना विद्यार्थी उत्तीर्ण हुँदा ३० जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । अर्थात ४७.३७ प्रतिशत उत्तीर्ण हुँदा ५२.६३ प्रतिशत अनुत्तीर्ण भएका छन् । 

एसइइ परीक्षामा जिल्लाबाट १ निजी र २५ सामुदायिक गरी २६ माध्यमिक विद्यालयबाट परीक्षामा सहभागी रहेको थियो । जसमा पुथाउत्तरगंगा गाउँपालिका १० महेन्द्र मावि तकसेरा, भूमे गाउँपालिका ८ माध्यमिक विद्यालय कुचिबाङ र भूमे ९ नेपाल राष्ट्रिय मावि चुनबाङ गरी जिल्लाका ३ विद्यालयको नतिजा शून्य आएको छ । भने एक मात्र निजी मावि रहेको हिमशिखा मावि सिस्ने गाउँपालिका ६ छिप्रिदह सत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

खस्कदो शैक्षिक क्षेत्रलाई कसरी सुधार गर्न सकिन्छ ? जिल्लामा संचालन हुने कुनै पनि परिक्षमा शतप्रतिशत नतिजा प्राप्त गर्न के गर्न सकिन्छ लगाएतका विषयमा अन्तरक्रिया कार्यक्रममा छलफल गरिएको छ । 

छलफलका क्रममा शिक्षा सुधारमा मुख्यतयाः शिक्षकहरु नै शैक्षिक क्रियाकलापमा बढि केन्द्रित हुनुपर्ने कार्यक्रममा सहभागीहरुले बताएका छन् । बिद्यार्थीलाई वर्षभरी दिनुपर्ने लगानी पूर्ण रुपमा दिन सकियो भने मात्र नतिजा राम्रो आउन सक्ने उनीहरुको भनाई छ । यसैबीच जिल्लामा अभिभावकहरुको चासो बिद्यार्थी केन्द्रित नभएको गुनासो पनि सहभागीहरुको रहेको थियो ।

जनता माध्यामिक बिद्यालय पोखराका प्रधानाध्यापक कलु खड्काले बिद्यालयमा पढाउने तर घरमा गर्न लगाईएको कामभन्दा पनि मोबाईलमा बिद्यार्थीहरुको बढि ध्यान दिने र यसमा अभिभावकको चासो नदेखिदा पनि शैक्षिक क्रियाकलापमा समस्या निम्तिएको बताउनुभयो  । बिद्यालय सँगसँगै घरमा पनि बिद्यार्थीलाई पढाई केन्द्रित बनाउन अभिभावक शिक्षा आवश्यक रहेको उहाँले बताउनु भयो ।  

यसैबिच छलफलका क्रममा आफ्ना धारणा व्यक्त गर्दै रुक्मिणी माध्यामिक बिद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर मल्लले शिक्षकले निर्बाह गर्नुपर्ने कर्तव्यहरुलाई पूर्ण रुपमा पालना गर्न सकियो भने शिक्षामा सुधार गर्न सकिने बताउनुभयो । जिल्लामा अवस्थित बिद्यालय बिद्यालय बीच समन्वय नहुदा, एक अर्को बिद्यालय बीच बदलाको भावना रहेको हुदा  यसतर्फ ध्यानाकर्षण गरी अघि बढ्न सकियो भने पनि यसको सकारात्मक असर शैक्षनिक पाटोमा पर्ने उहाँले बताउनुभयो । 

जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठ, सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मी, प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, शिक्षा विकास समन्वय इकाइ प्रमुख तिलक गौतम, भूमे गाउँपालिकाका शिक्षा शाखाका प्रमुख कौशलकुमार तिवारी, सिस्ने गाउँपालिका शिक्षा शाखाका प्रमुख मंगलसिंह बुढा मगर, शिक्षक महासंघ रुकुम पूर्वका अध्यक्ष मानबहादुर बस्नेत लगायत विभिन्न शिक्षक संगठनका प्रमुख तथा प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानध्यापक लगायतको उपस्थित रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज