Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

डोल्पाबाट छुटेको यात्रुबहाक बस छलगाड खोलामा फस्यो, ३४ यात्रुको सकुशल उद्धार        

मंगलबार, असार १८, २०८१
tribeni2

डोल्पाको सदरमुकाम दुनैबाट नेपालगञ्जका लागि छुटेको रात्री बस मङगलबार छलगाड खोलामा आएको बाढीमा फसेको छ । ना ख १७९८ नम्वरको यात्रुबहाक बस डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका –१ स्थित छलगाड खोलामा आएको बाढीमा फसेको हो । 

त्रिपुराकोट प्रहरी चौकीका प्रहरी नायब निरीक्षक रमेश बहादुर सिंहले दिनुभएको जानकारी अनुसार ३४ जना यात्रु, खसीबोका र खाद्यसामाग्री बोकेको बस खोलामा फसेको हो । गाडि खोलामा अड्किए लगत्तै प्रहरी र स्थानीय मिलेर सबै यात्रुहरुको सकुशल उद्धार गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार गाडिमा ३४ जना यात्रुहरु रहेका थिए ।

गाडिको पछाडिको डिक्कीमा रहेको एक वटा खसी, तीन बोरा दाल, छतमा रहेका ५० थान तरकारीका क्यारेट र यात्रुका केहि झोलाहरु भने खोलाले बगाएको उहाँले बताउनुभयो ।

सुरुमा पानीको बहाव कम भएकोले चालकले खोलामा गाडि हालेको तर माथिल्लो लेकतर्फबाट एक्कासी ढुङ्गा, माटोसहितको बाढी आउँदा गाडि फसेको उहाँको जनाउनुभयो । खोलामा पानीको बहाव धेरै भएकोले गाडिलाई बगाउनबाट जोगाउन बलियो डोरीले खोला किनारको ढुङ्गामा बाँधिएको समेत सिंहले जानकारी दिनुभयो । 

उक्त स्थानमा सोमबार पनि सोहि गाडि फसेको थियो । जेसिबीको प्रयोग मार्फत तानिएको गाडि नेपालगञ्जतर्फ यात्रु लिएर फर्कदै गर्दा फसेको हो । आज रातभर गाडि खोलामै रहने र पानीको बहाव कम भएमा जेसिबी प्रयोग गरेर निकालिने बताईएको छ । 

गाडि फसेपछि यात्रुहरु अलपत्र परेका छन् । निरन्तरको वर्षाका कारण बालबालिका र जेष्ठ नागरिकहरुले बढी समस्या झेलिरहेको बताईन्छ । केहि यात्रुहरु स्थानीय बजारमै रहेका छन् । खोलामा आएको बाढीको कारण करिब ५० मिटर सडक बगाएको छ । तत्काललाई उक्त स्थानमा ठुलो गाडिहरु चल्ने अवस्था नभएको प्रहरीको भनाई रहेको छ । 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  २०:००
प्रतिक्रिया दिनुहोस्