बाँफिकोटको सम्झनामा

शनिबार, असार २२, २०८१

कविता : बाँफिकोटको सम्झनामा

  • मा. घनश्याम भण्डारी 

सानीभेरीको किनारमा उभिए
जाल समातेर सितनको खोजिमा 
रातदिन एउटै सपना बोकेर 
एक छाक तिउनको लागि
एक अधबैशे छोरा
बाँठा माइलाहरु सँगै नदि किनारमै छन्
बिगत देखि आजसम्म निरन्तर ...
विकास ,समृद्धी र समानताको लागि
क्रियाशिल छन्, स्यार्पुका भुमिपुत्रहरु ।

त्यसैले बत्ती, पानी र सडक छ गाँउमा
सबै अभयवहरु सँगै लगेर बगेको छ स्यार्पुखोला
नदेखिने गरेर नेपथ्यमा विगत झै निरन्तर,
भिमकाय महाभारत पर्वतकै बिचमा
सतिसालझै ठिङग उभेको पहाड छेउमा
गजधम्म झाङ्ग्रा फिँजाएर बसेको छ
युगौयुग देखि सुन्दरताको खोजिमा 
चित्कार सकिएपछि बोल्न नसक्ने आवाज जस्तै
ग्रहण लागेको चन्द्रमा झै 
यतिखेर मलिन मुहारमा छ
स्यार्पु ताल ।

पुरिदाइको आतिथ्यता, मध्यान्नको चर्को घाम 
हिँडाइको थकान बिचको चर्को भोक
जीवनभर सम्झिरहने छौ, अमृत भोजन 
भिरमौरीको चाका जस्ता
बाँडिएका गुलिया सपनाहरु
पूरा हुने आशैआशमा बैँस ढल्कीएका
शैक्षिक बेरोजगार प्रमाणपत्रधारीको हुल 
अमेरिका पठाइ रहन्छ बाँफिकोट
केही बिदेशी जङ्गलमा भौतारिएका छन्
केही सिमानामा लुकामारी गर्दैछन्
यसै बिच दुखान्त समाचार आयो
अमेरिका पुगेको आप्रवासी
औषधी नपाएर स्वार्गबास भयो ।

त्यहाँ मानव अधिकार , न्याय र शान्ती कोकुरा थियो 
विकास, समृसद्ध र अग्रगमनको चर्चा थियो
सम्पन्नताको सपना बोकेर हिँडेको
मार्इलाको ग्रीन कार्ड नभएकै कारण 
ज्वरोको सिटामोल नपाएर
अमेरिकामा रोगले थला पर्यो र उपचार नपाएर मर्यो
माइलो मात्र अमेरिकामा मरेन
माइलो संगै  बाँफिकोटमा दिदिको तिहार, स्वास्नीको चुरापोते र सिन्दुर
भाइको आँट र साहस 
अनि, बुढा बा आमाको भरोसा 
सिङो गाँउको सपनाको अत्य भएको छ।

त्यही भएर होला 
बाँफिकोटले छिनखेतमा
झुला, कोट, दुलि, पिपल, मग्मा 
सबैको निरोगिताको लागि
अस्पताल मात्र होइन भरोसा बनाउँदैछ
गाउँ पुरै निरोगी राख्ने सपना बोकेर
सबैको जीवनमा खुशी फर्काउने 
सपना बुन्दै छ बाँफिकोट
सानीभेरी किनार र नागबेली सडकले
स्यार्पु सम्मै आधुनिक युगको विकास 
सडक संजालले छोएको छ
यहि खुशीमा होला सायद
स्यार्पुमा नुहाउदैछन् टीका भैसीहरु
खुसीसाथ हाँसीरहेकाछन् र हाइ भन्दै 
स्वागतमा पौडिएर बसेका छन् दुनियाँको लागी ।

समय बदलियो 
अब बदलिने पालो बाँफिकोटको
शरणार्थी अमेरिकन बनेकाहरु
मेक्सिकोको जङ्गलमा हराएका 
देखासिकिमा पलाएन हुने 
मानसिकता बनाएकाहरुलाई
आफ्नै पौरखमा फिर्ता गर्दैछ बाँफिकोट
समय बलबान छ
माटोको प्रेमले भुमिपुत्रहरुलार्इ
जननी जन्मभुमिश्च स्वार्गादपी गरियसीको नया पाठ 
दैनिक पढाइ रहेछ, स्यार्पु बहुमुखी  क्याम्पस 

जल ,जमिन, जडिबुटी र जङ्गलको 
बहुउपयोगको बिषयमा के गर्ने भनेर
सोधेका छन्, हरेक डाँडाको प्रकृतिले
स्यार्पुले छोडेको पानीले बिद्युत निस्किएको छ
स्यार्पुखोला, नदेखिने गरेर उज्यालो भएर 
बाँफिकोटवासीको दैलोमा हाजिर छ

स्यार्पु तालको किनारमा उभिएर
मलाई एउटा प्रश्न गरिरहेछ, डुब्नै लागेको सुर्य
तिम्रो संविधानको धारा , ऐनको दफा र
नियमावलिको उपदफामा लेखिएको 
मौलिक हक, यहाँ कहिले पाईने हो ?

यो प्रश्न सबै जनजनको मौन प्रश्न ठानेर
पालिका, प्रदेश र संघको सहकार्यमा
गुणस्तरीय शिक्षा, सर्पसुलभ स्वास्थ्य, 
गाँउमै रोजगारी, सबैको जिम्मेवारी
यहि निर्णयका साथ 
बाँफिकोटको पन्धौ गाउँ सभा सकिएछ ।


- १० असार, २०८१
(कवि भण्डारी, कर्णाली प्रदेश सभा, सामाजिक विकास समितिको सभापति हुनुहुन्छ ।)

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कविता : स्यार्पुको रङ्ग 
शनिबार, असार २२, २०८१

कविता : त्यो युद्ध र सपनाहरु
शनिबार, असार २२, २०८१

कविता : प्रिय कर्णाली !
शनिबार, असार २२, २०८१