स्वस्थकर जीवशैलीका लागि गृहिणी भान्सा सुधार कार्यक्रम

आइतबार, असार २३, २०८१

रुकुम पुर्वमा स्वस्थकर जीवनशैली प्रवर्द्धनको लागि गृहिणी भान्सा सुधार कार्यक्रम आयोजना गरिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पुर्वको आयोजनामा होटेल व्यवसायी तथा गृहिणीहरुको लागि यो कार्यक्रम गरिएको हो ।

घरमा खाना पकाउने आमाबुबा, दाजुभाई तथा दिदीबहिनिहरु सचेत भएमा मात्र स्वस्थकर खानपानको व्यवस्था हुने र यसले मानिसलाई स्वस्थ हुन मदत गर्ने भएको कारण सचेत बनाउन यो कार्यक्रम गत वर्षदेखी सञ्चालन गर्दै आएको आयोजकले जनाएको छ । भान्सा सुधार भए मात्र हाम्रो स्वास्थ्य राम्रो हुन्छ भन्ने मान्यताका साथ यो कार्यक्रमको आयोजना गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख विष्णुहरि आचार्यले जानकारी दिनुभएको छ । 

कार्यक्रममा भन्साको सरसफाइ र स्नान, गृहिणी र निन्द्राको महत्त्व, सन्तुलित आहार र यसको महत्त्व, भान्सा वरपरको औषधि, गृहिणीमा आउने तनाव व्यवस्थापनको लागि ध्यानको महत्त्व लगाएतको बारेमा जानकारी गराइएको छ ।

कार्यक्रममा  बोल्दै प्रमुख अतिथी एवम् सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले अहिले रासायनिक मल, विषादी प्रयोग गरिएका र बाजरका खानेकुराको सेवनले गर्दा मानव स्वास्थ्यमा विभिन्न खालका समस्याहरु देखिदै गएको बताउनुभएको छ । यस्ता विषादीयुक्त खानेकुराको साटो अर्गानिक खानपान, व्यायाम, योग, भजनकिर्तनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले जीवन बदल्नको लागि स्वस्थ आहारविहारमा ध्यान दिनुपर्ने बताउनुभयो । स्वादे जिब्रोकोपछि लाएर जीवन सकिरहेको बताउँदै उहाले खानेकुराहरु खादा स्वास्थ्यलाई लाभ हुने खालका खानेकुरा खानुपर्ने बताउनुभएको छ ।

आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख विष्णुहरी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मिको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउले, प्रमुख जिल्ला अधिकारी माधव प्रशाद शर्माको विषेश आतिथ्यता रहेको थियो । कार्यक्रममा सिस्ने गाउँपालिका ६ का वडाध्यक्ष पुर्ण बहादुर मल्ल, सिस्ने गाउँपालिका निवर्तमान अध्यक्ष कुमारी बराल, पत्रकार तथा होटेल व्यवसायी र गृहिणीहरुको उपस्थिति रहेको थियो ।

आयुर्वेद स्वास्थ्य केन्द्राका बैद्य सन्तोष चौधरीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन कविराज पर्मा चौधरीले गर्नुभएको थियो ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १४:१६
प्रतिक्रिया दिनुहोस्