पढ्दै कमाउँदै

पढ्दै कमाउँदै गर्नलाई तरकारीको बिउ र मौरीसहितका घार वितरण

४१ जनालाई मौरीसहितका घार र एक सय जनालाई तरकारीको बिउ वितरण
आइतबार, असार २३, २०८१

रुकुम पूर्व । पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन भएको रुकुम पूर्वको एक विद्यालयका विद्यार्थीहरुलाई तरकारीको बिउ र मौरीसहितका घार वितरण गरिएको छ ।

सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको रुक्मिणी माध्यामिक विद्यालयका १४१ जना विद्यार्थीहरुलाई तरकारीको बिउ र मौरीसहितको घार वितरण गरिएको हो । 

विद्यालयका प्रधानाध्यपक चन्द्रबहादुर मल्लका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउदै कार्यक्रम सञ्चालित यस विद्यालयमा अध्ययनरत प्राविधिक धारतर्फका ४१ जना विद्यार्थीहरुलाई मौरीसहितका घार  र एक सय जना विद्यार्थीहरुलाई तरकारीको बिउ वितरण गरिएको छ ।
विद्यालयका कक्षा ९, १० र ११ मा अध्ययनरत प्राविधिक धारतर्फका ईच्छुक, जेहेन्दार विद्यार्थीहरुलाई मौरीघार तथा तरकारीको बिउ वितरण गरिएको उहाँले बताउनुभयो । 

मौरी सहितका घारसँगै विद्यार्थीहरुलाई घुम्टी, धुँवादानी, पञ्जा, हुल छोप्ने झोला, ब्रस, फिडर लगायतका सामाग्री वितरण गरिएको प्रधानाध्यापक मल्लले जनाउनुभयो । तरकारीको बिउ अन्तर्गत काउली बन्दा, रायो र मुलाको बिउ उपलब्ध गराइएको छ । 

घार प्राप्त गरेका विद्यार्थीहरुले मौरीको हेरचाह आफै गर्नेछन् भने आम्दानी पनि उनीहरुले नै प्राप्त गर्नेछन् । तरकारीको बिउ प्राप्त गरेका विद्यार्थीहरुले तरकारी आफै रोप्ने छन् भने उत्पादन पश्चात बिक्रि गरेर आफैले आम्दानी गर्नेछन् ।  

शैक्षिक सत्र ०७९/८० देखी यस विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउदै कार्यक्रम संचालन गरिएको छ । सोही अनुरुप गत वर्ष पनि यसै बिद्यलयका २५ जना विद्यार्थीलाई मौरी सहितका घार वितरण गरिएको थियो । 

f9526286-52a0-407f-a2e3-376eb36b4f2b-1720343145.jpegगत वर्ष घार प्राप्त गरेका बिद्यार्थीहरुले मौरीबाट मनग्य आम्दानी गरेको बिद्यार्थीहरुको भनाई छ । कक्षा ११ मा अध्ययनरत प्रीया बुढाथोकीले गत वर्ष मात्रै पाँच किलो मह बिक्रि गरेको र ६ किलो मह घरमै प्रयोग गरिएको बताउनुभयो । यस्तै विद्यालयबाट प्राप्त गरेको एक घारबाट २ घार बनाउन सफल भएको कक्षा १० मा अध्ययनरत निराजन शाहले बताउनुभयो । 

विद्यार्थीको शिक्षालाई सीप र सीपलाई उद्यममा जोड्ने उद्धेश्यले संचालनमा रहेको यस कार्यक्रम अन्तर्गत यस वर्ष पाँच लाख बजेटबाट विद्यार्थीलाई उक्त मौरी सहितका घार वितरण गरिएको विद्यालयका कृषि तथा प्राविधिक कार्यक्रम संयोजक नविन शर्माले जानकारी दिनुभयो ।

बिद्यार्थीहरुले सैद्धान्तिक मात्र नभई व्यावहारिक ज्ञान आवश्यक हुने हुँदा यस कार्यक्रमले थप मद्धत पु¥याएको विद्यालयले जनाएको छ । यसका साथै विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको पढाईमा आवश्यक आर्थिक व्यवस्थापनमा समेत सहयोग पुगेको बताईएको छ ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ओम प्रकाश थापाको अध्यक्षतामा भएको मौरी सहितका घार वितरण कार्यक्रममा सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउले, शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख तिलक गौतम, सिस्ने गाउँपालिका शिक्षा शाखा प्रमुख मंगलसिंह बुढा, विद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर मल्ल, बिद्यार्थी अभिभावक लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १४:५३
प्रतिक्रिया दिनुहोस्