खुकुरीले श्रीमतीको घाँटी रेट्ने जीवन सार्वजनिक 

सोमबार, असार ३१, २०८१

रुकुम पूर्वमा श्रीमतीको हत्या आरोपमा पक्राउ परेका एक युवालाई प्रहरीले सार्वजनिक गरेको छ । 

जिल्लाको भूमे गाउँपालिका वडा नम्वर ६ निवासी २५ वर्षिया अप्सरा ओलीको हत्या आरोपमा पक्राउ परेका उनका श्रीमान्  २७ वर्षीय जीवन ओलीलाई प्रहरीले सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरिक्षक माधवराज खरेलले जीवनले आफ्नो श्रीमतीको हत्या गरेको स्वीकार गरेको बताउनुभयो । उहाँका अनुसार गत शुक्रबार खुकुरीले घाँटि रेटेर अप्सराको हत्या गरिएको थियो । 

हत्यापछि पाँच वर्षिय छोरा आयुषलाई लिएर उनी फरार रहेका थिए । प्रहरीले आईतबार भूमे गाउँपालिका वडा नम्बर ६ र ७ को बिचमा रहेको माम्फु खोला नजिकको जङ्गलमा लुकेर बसेको अवस्थामा जीवनलाई पक्राउ गरेको थियो ।

पक्राउपछि बयानको क्रममा जीवनले घरायसी विवादका कारण श्रीमतीको हत्या गरेको बताएको प्रहरीको भनाई छ । श्रीमान् श्रीमतीले एक अर्कामा शङ्का गर्ने गरेको र त्यसकै कारण उनीहरू बिचमा लामो समय देखि झगडा पर्दै आएको प्रहरीले जनाएको छ । घटनाको दिन पनि सामान्य विवादमा झगडा सुरु भएपछि खुकुरीले घाँटी रेटेर हत्या गरेको बयान जीवनले प्रहरी समक्ष दिएका छन् । 

पक्राउ परेका जीवन बिरुद्ध कर्तव्य ज्यान शिर्षकमा मुद्धा दर्ता गरेको र रुकुमकोट जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १७:३६
प्रतिक्रिया दिनुहोस्