आठविसकोटमा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु, सात घाईते 

मंगलबार, साउन १, २०८१

गए राती आएको बाढीले घर बगाउँदा रुकुम पश्चिममा तीन बालिकाको मृत्यु भएको छ भने सात जना घाईते भएका छन् । 

आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु, एक जना बेपत्ता र सात जना घाईते भएको आठविसकोट नगरपालिका प्रमुख रबि केसीले जानकारी दिनुभयो । 

मृत्यु हुनेहरुमा स्थानीय १० बर्षिया हितमाया पुन, आठ वर्षिया धनसा पुन र चार बर्षिया मनिषा सार्की रहेको नगर प्रमुख केसीले बताउनुभयो । घटनामा परेर डिल्ली बहादुर बुढाथोकी बेपत्ता हुनुभएको छ । 

बाढीले घर बगाउँदा घाईते हुनुभएका सात जनालाई आठविसकोटस्थित नगर अस्पतालमा ल्याएर उपचार सुरु भएको स्थानीय ललित चन्दले जानकारी दिनुभयो । चन्दका अनुसार घाईते हुनेहरुमा १२ वर्षिय बिनय सार्की, २२ वर्षिया मनिषा पुन, २९ वर्षिय जनक खत्री, ६ वर्षिया मनसरी पुन, चार वर्षिय मेक्सन पुन, २८ वर्षिया धनमाया पुन र ६५ बर्षिया कल्पना कामी रहनुभएको छ । 

आठबिसकोटस्थित गिजागार खोलामा आएको बाढीले घर बगाउँदा उक्त घटना भएको बताईएको छ । बाढीले अन्य स्थानका घर र घट्ट समेत बगाएको छ । घटनाको पूर्ण विवरण संकलन हुँदै गरेको नगर प्रमुख केसीले बताउनुभयो । 

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तसहित सुरक्षा निकाय, नेपाल रेडक्रस लगायतको टोली परिचालन भएको छ । अहिले नेपाल प्रहरी, आठविसकोट नगर प्रहरी र स्थानीयले खोज, उद्धार र उपचारको कार्यलाई प्राथमिकता दिएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ०६:३४
प्रतिक्रिया दिनुहोस्