नेभिगेशन
समाज

अस्थायी टहरामा सुतेका थिए बाढीले पुरिएका तीन बालिका

रुकुम पश्चिमको आठविसकोट नगरपालिका –१२ झिन्चौरका शेरबहादुर पुनको अस्थायी आवास (टहरा) मा मा सुतेका तीन जना बालिकाको मृत्यु भएको खुलेको छ । 

भूकम्पपछि बनाईएको उक्त अस्थायी टहरामा सुतेका तीन बालिकालाई गएराती गिजागार र तातोपानी खोलाबाट आएको बाढीले बगाउँदा मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीका अनुसार बाढीले घर भत्किँदा तीन जना बालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्  । सात जना घाइते भएका छन् । अस्थायी टहरामा सुतेका १० बर्षिया हितमाया पुन, आठ वर्षिया धनसा पुन र चार बर्षिया मनिषा सार्की मृत्यु भएको उहाँले बताउनुभयो । 

बाढीमै परेर अर्को घरका सुतेका डिल्ली बहादुर बुढाथोकी बेपत्ता हुनुभएको छ । उहाँको खोजी कार्य भईरहेको छ । 

बाढीले घर टहरा भत्काउँदा सात जना घाईते भएका छन् । घाईतेहरुको आठविसकोट नगर अस्पतालमा उपचार भईरहेको र अवस्था सामान्य रहेको प्रहरीको भनाई छ । खोलाको बाढीले थप तीन वटा घर र दुई वटा घुम्ती पसलहरू बगाएको उहाँले जानकारी दिनुभयो । 

गिजागार खोलामा आएको बाढीले स्थानीय गमबहादुर खत्रीको जस्ता पाताले छाएको घर, घुम्ती पसल, धनजित सार्कीको घुम्ती पसल र आठविसकोट नगरपालिका वडा नम्बर ८ का दीपक परियारको कच्ची घर, शौचालय र अर्को एउटा टहरा पनि बगाइदिएको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो । 

पानी परिहेको र खोलाको सतह बढीरहेकोले सतर्क रहन स्थनीय प्रहरीले माईकिङ गरिरहेको छ । यहाँका दर्जनौ घर र अस्थायी टहरा बाढी पहिराको जोखिममा रहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज