बाढी पीडितको खोजी र उद्धारमा खटिएका नगर प्रहरीका असई ओली घाईते

मंगलबार, साउन १, २०८१

रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक (असई) घाईते हुनुभएको छ । 

नगरपालिकाको नगर प्रहरी उपशाखामा कार्यरत असई टोप बहादुर ओली उद्धारको क्रममा घाईते हुनुभएको हो । 

गतराती आठविसकोट नगरपालिका १२ मा आएको बाढीको कारण बेपत्ता र मृत्यु भएकाहरुको खोजी र उद्धार कार्यमा खटिनुभएका ओली ढुङ्गाबाट चिप्लिएर बायाँ हात भाँचिएको आठविसकोट नगरपालिका वडा नम्वर ९ का वडा सदस्य नवराज मल्लले जानकारी दिनुभयो । 

बाढीको कारण बेपत्ता भएका डिल्ली बहादुर बुढाथोकीको खोजी कार्यमा लागेको बेला उहाँ घाईते हुनुभएको हो । घाईते असई ओलीको आठविसकोट नगर अस्पतालमा उपचार गरिएको छ । 

स्थानीय गिजागार खोलामा आएको बाढीले यहाँका तीन जना बालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनुभएको छ । बाढीकै कारण नौ जना घाईते भएका छन् । मृत्यु हुनेहरुमा स्थानीय १० बर्षिया हितमाया पुन, आठ वर्षिया धनसा पुन र चार बर्षिया मनिषा सार्कीको रहेका छन् ।

बाढीले बगाउँदा स्थानीय ३८ बर्षिय डिल्ली बहादुर बुढाथोकी बेपत्ता हुनुभएको छ । उहाँको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  २१:४१
प्रतिक्रिया दिनुहोस्