टहरामै पुरिए भूकम्प पीडित, चार जना गम्भीर घाइते

बुधबार, साउन २, २०८१

जाजरकोट । जाजरकोटका भूकम्प पीडितहरु सुतिरहको अस्थायी टहरा पहिरोले पुरिँदा ४ जना गम्भीर घाइते भएका छन् । जिल्लाको कुशे गाउँपालिका ८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरा पहिरोले पुरिँदा ४ जना गम्भीर घाइते भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी पुरुषोत्तम पाण्डेका अनुसार घाइते हुनेहरूमा सोही स्थानका वर्ष ३५ का दलसरी थापा, उहाँकी छोरी ४ वर्षीया हस्तीका थापा, बर्ष २९की कमला थापा, र १७ वर्षीया निरमाया थापा छन् ।

घाइतेहरूमध्ये विष्णु थापाको अवस्था गम्भीर रहेको जनाइएको छ । राती भएको घटना लगत्तै वडा अध्यक्ष डिल्लीबहादुर सिंहले जानकारी गराएपछि प्रहरी चौकी पैंकबाट घटनास्थलमा पुगी घाइतेहरूलाई  उद्धार गरिएको थियो । 

घाइतेहरूलाई प्रहरी र स्थानीयले बोकेर  सुरक्षित स्थानमा राखिएको र  अहिले उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाउने तयारी भएको वडा अध्यक्ष डिल्लीबहादुर सिंहले जानकारी दिनुभयो । घाइतेहरूलाई हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि नेपालगन्ज पठाउने तयारी भइरहेको डिएसपी पाण्डेले जानकारी दिनुभएको छ । मौसम प्रतिकूलताका कारण हेलिकोप्टर आउन ढिलाइ भइरहेको डिएसपी पाण्डेको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्