‘सिआइबीको डिएसपी हुँ’ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

बुधबार, साउन २, २०८१

बाँके ।  सिआईबी र राष्ट्रिय अनुसन्धानको 'डिएसपी हुँ' भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक नारायण डाँगीले दिनुभएको जानकारी अनुसार दैलेखकाे नारायण नगरपालिका ५ बस्ने वर्ष ३० का नैनसिंह बिक पक्राउ परेका हुन् ।

प्रहरी नायब उपरिक्षक डाँगीका अनुसार विगत तीन महिनादेखि बाँके जिल्लाका विभिन्न सरकारी कार्यालयमा आफू सिआईबी र राष्ट्रिय अनुसन्धानको 'डिएसपी नवीन शाही हुँ' भनी ठगी गर्ने गरेको सूचनाको आधारमा बिकलाई पक्राउ गरिएको हो ।

बिकले जिल्लाका विभिन्न सरकारी कार्यालयमा पुगेर अनुगमनको सिलसिलामा आएको हुँ भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीलाई भेट्ने, कुराकानी गर्ने र सर्वसाधारणलाई ठगी गर्ने गरेको भन्ने सूचना प्राप्त भएपछि कोहलपुर ११ एनटीभि रोडबाट उनलाई पक्राउ गरिएको हो ।

यस्तै, बिकले कुनकुन ठाउँबाट के कति ठगी गरेको हो सो पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ । 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १८:३१
प्रतिक्रिया दिनुहोस्